जापान, रुस र अमेरिकामा सुनामीको चेतावनी
अखबार टुडे
प्रकाशित:
२०७८, २ माघ

काठमाडौं, २ माघ (एजेन्सी) । जापानको मौसम विज्ञान एजेन्सीले सुनामी आउन सक्ने चेतावनीयुत्तः सन्देश जारी गरेको छ ।

जापानमा शनिबार मध्यराति तिर यो सूचना जारी गरिएको हो । टोंगामा ज्वालामुखी विस्फोट भएको थियो । शनिबार त्यहाँ शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि सुनामी आउन सक्ने भन्दै शनिबार मध्यराति यो सूचना जारी गरेको हो ।

दक्षिणी प्यासिफिक टापूको टोंगामा शनिबार विस्फोट भएको ज्वालामुखीपछि जापानको पनि प्यासिफिक क्षेत्रमा यसको खतरा रहेको बताइएको छ ।
त्यहाँ सुनामी आउन सक्ने भन्दै सामुद्री किनाराका नागरिकलाई उद्धार गरी अन्यत्रै सारिएको छ । साथै यस वरपरका नागरिकलाई सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।

जापानको पूर्वी समद्री किनारामा सुनामीको संकेत नै देखिइसकेको यससम्बन्धी अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार यहाँको अमामी टापू तथा यस वरपरको समद्री किनारामा पानीको सतह केही माथिसम्म आएको र यसबाट सम्भावित सुनामीको संकेत देखिइसकेको बताइएको छ । जापानको दक्षिणपश्चिमी सामुद्री किनाराहरुमा करिब तीन मिटरसम्मको सुनामी आउनसक्ने सो निकायले जनाएको छ ।

यस्तै, अमेरिकामा पनि पानीको छाल र सुनामीका कारण तटीय क्षेत्रमा बाढी आउन सक्ने जनाइएको छ ।
हुंगा तोंगा–हुंगा हापाई ज्वालामुखी विस्फोटको आवाज सुरुमा दक्षिणी प्रशान्त क्षेत्रभित्र सुनिएको र त्यसको असर अमेरिकाको तटीय क्षेत्रसम्म पुगेको जनाइएको छ ।

तोंगाका अधिकांश क्षेत्र खरानी भएको र विद्युत, फोन लाइन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । ज्वालामुखीले पु–याएको क्षतिको पुरा विवरण सार्वजनिक हुन बाँकी नै छ ।

यस्तै, रुसले पनि सुनामीको चेतावनी जारी गरेको छ । सुनामीबाट बँच्न तटीय क्षेत्रका नागरिक सुरक्षित ठाउँमा सरेका छन् ।

प्रतिक्रिया