मानवीय सहायता सामग्री लिएर नेपाली टोली अफगानिस्तान प्रस्थान
अखबार टुडे
प्रकाशित:
२०७८, २ माघ

काठमाडौं, २ माघ । परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालको नेतृत्वमा करिब १२ टन मानवीय सहायता सामग्रीसहित नेपाली टोली अफगानिस्तान प्रस्थान गरेको छ ।
लत्ताकपडा, औषधि, भाँडाकुँडालगायतका मानवीय सहायता सामग्रीसहित सो टोलि हिमालयन एयरलाइन्सको विमानमार्फत त्यसतर्फ गएको हो ।

सहयोग सामग्री बोकेको विमान अफगानिस्तानको राजधानी काबुल जाने र विमानस्थलमा रहेको संयुक्त राष्ट्र सङ्घको कार्यालयका प्रतिनिधिमार्फत सामग्री हस्तान्तरण गरिने परराष्ट्रमन्त्री डा. नारायण खड्काले जानकारी दिए ।

मन्त्री खड्काले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सदस्य राष्ट्रको नाताले अप्ठ्यारोमा सहयोग गर्नुपर्ने नैतिक जिम्मेजारी ठानेर अफगानिस्तानमा मानवीय सहयोग सामग्री पठाइएको बताए । सङ्घको समन्वयमा आवश्यकताअनुसार खाद्यान्न, लत्ताकपडा, औषधि, आवश्यक घरायसी सामान, भाँडाकुँडा नेपाली नागरिकका तर्फबाट अफगानी नागरिकलाई पठाइएको हो ।
मन्त्री खड्काले नेपालको इतिहासमा पहिलो पटक विमानमार्फत मानवीय सामग्री लिएर अन्य राष्ट्रलाई सहयोग पठाइएकोे जानकारी दिए ।

अफगानिस्तानमा पछिल्लो समय मानवीय संकट सिर्जना भएकाले राष्ट्रसंघले सघाउन सदस्य मुलुकहरुलाई आग्रह गरेको थियो । महासचिव एन्टोनियो गुट्रेसले मानवीय सहयोगका लागि आह्वान गरेका थिए ।

चरम आर्थिक संकट र खाद्यान्न अभावबाट गुज्रिरहेको अफगानिस्तानलाई पछिल्लो समय विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संस्थाले मानवीय सहायता गरिरहेका छन् । नेपालले पनि अफगान जनतालाई केही राहत होस् भनेर सहायता पठाएको हो ।

प्रतिक्रिया