अफगानिस्तानमा मानवीय संकट : नेपालले राहत पठाउँदै
अखबार टुडे
प्रकाशित:
२०७८, १ माघ

काठमाडौं, १ माघ । पछिल्लो समय अफगानिस्तानले मानवीय संकट बेहोरिरहेको छ । तालीबानले सत्ता लिएसँगै अफगानिस्तानमा संकट आएको हो ।

यसैबीच नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामग्री पठाउने भएको छ । आइतबार मानवीय सहायता सामग्रीसहितका सामग्री लिएर परराष्ट्र मन्त्रालयको टोली अफगानिस्तानको राजधानी काबुल जान लागेको हो ।

परराष्ट्र प्रवक्ता सेवा लम्सालका अनुसार आइतबार बिहान हिमालयन एयरलाइन्सको चार्टर बिमानबाट परराष्ट्रको टोली त्यसतर्फ जान लागेको छ । नेपाली टोली काबुल पुगेर सहयोग हस्तान्तरण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानमा पछिल्लो समय मानवीय संकट सिर्जना भएकाले राष्ट्रसंघले सघाउन सदस्य मुलुकहरुलाई आग्रह गरेको थियो । महासचिव एन्टोनियो गुट्रेसले मानवीय सहयोगका लागि आह्वान गरेका थिए ।

चरम आर्थिक संकट र खाद्यान्न अभावबाट गुज्रिरहेको अफगानिस्तानलाई पछिल्लो समय विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संस्थाले मानवीय सहायता गरिरहेका छन् । नेपालले पनि अफगान जनतालाई केही राहत होस् भनेर सहायता पठाउन लागेको हो ।

यसैबीच नेपाल उद्योग परिसंघले सार्क सदस्य मुलुक अफगानिस्तानलाई परराष्ट्र मन्त्रालयमार्फत राहत सामाग्री हस्तान्तरण गरेको छ । परिसंघ अध्यक्ष विष्णुकमार अग्रवालले परराष्ट्रमन्त्रीलाई राहत सामाग्री प्रदान गरेका हुन् ।

सहयोग सामाग्री ग्रहण गर्दै परराष्ट्रमन्त्री खड्काले छिमेकी मुलुकमा परेको संकटमा नेपाल सरकार र निजी क्षेत्र मिलेर उदाहरणीय सहयोग गरेको बताए ।

प्रतिक्रिया