हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर प्रक्रिया विफल
अखबार टुडे
प्रकाशित:
२०७८, ३० पुष

काठमाडौं, ३० पुस । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकका मर्जर प्रक्रिया रोकिएको छ ।
हिमालयन बैंकको आज बसेको वार्षिक साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेसँगै मर्जर विफल भएको हो ।

मर्जर सम्बन्धी प्रस्तावमा सहमति हुन नसकेपछि बैंकले मतदानमार्फत पारित गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार शुक्रबार मतदान भएको हो । बैंक मर्जरसम्बन्धी विशेष प्रस्ताव पास गर्न ७५ प्रतिशत मत आवश्यक पर्छ ।
तर कर्मचारी संचयकोष, एन ट्रेडिङ कम्पनी, छायाँ इन्टरनेशनललगायत कम्पनीसहितले असहमति जनाएपछि ४२ प्रतिशत मत विपक्षमा आएको बताइएको छ ।

हिमालयन बैंकमा संचय कोषको १४.८७ प्रतिशत सेयर लगानी छ । यस्तै, एन ट्रेडिङ कम्पनीको १२.७७ प्रतिशत र छायाँ इन्टरनेसनलको ८.९४ प्रतिशत सेयर लगानी रहेको छ । यसरी ३६.५८ प्रतिशत सेयरधनीको असहमतिपछि हिमालयन बैंकको साधारणसभाबाट मर्जरको प्रस्ताव पारित हुन नसकेको हो ।

हिमालयन बैंकमा पाकिस्तानको हबिब बैंकको २० प्रतिशत सेयर लगानी छ । दोस्रो ठूलो सेयरधनी कर्मचारी सञ्चय कोष हो । बैंकमा म्युचुअल ट्रेडिङ कम्पनीको ११.८५ प्रतिशत, आभा इन्टरनेसनलको ११.३८ प्रतिशत सेयर छ । शशिकान्त अग्रवालको २.६५ प्रतिशत, अन्जु खेतानको ०.७७ र शर्मा एण्ड कम्पनीको ०.६६ प्रतिशत सेयर लगानी छ । बाँकी सेयर सर्वसाधारण र साना लगानीकर्ताको छ ।

इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्झौता गरेदेखि नै हिमालयन बैंक सञ्चालक समितिमा मतभेद देखिएको थियो । संस्थापक लगानीकर्ताहरु हबिब बैंक, म्युचुअल ट्रेडिङ कम्पनी, आभा इन्टरनेसनल र खेतान समूह मर्जरको पक्षमा रहेका थिए भने संचय कोष, एन ट्रेडिङ कम्पनी र छायाँ इन्टरनेसनल विपक्षमा रहँदै आएका थिए । यही कारण समझदारी पत्रमा हस्ताक्षर भएको करिब ९ महिना पछि यी दुबै बैंकको मर्जर प्रक्रिया रद्द हुने भएको हो ।

प्रतिक्रिया