‘लिपुलेकबारे मोदीको अभिव्यक्तिप्रति सरकारको मौनता र लाचारी आपत्तिजनक’
अखबार टुडे
प्रकाशित:
२०७८, ३० पुष

काठमाडौं, ३० पुस । नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको सार्वजनिक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको विवेकशील साझा पार्टीले जनाएको छ ।

विवेकशील साझाले शुक्रवार एक विज्ञप्ति निकालेर मोदीको उक्त अभिव्यक्तिप्रति नेपाल सरकारको मौनता र लाचारीले आपत्तिजनक बनाएको बताएका छन् ।
‘कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरी संविधान संशोधनमार्फत निसान छापमा त्यो नक्सा राखिसकिएको अवस्थामा मोदीको अभिव्यक्ति जति आपत्तिजनक छ, त्यति नै आपत्तिजनक हाम्रो सरकारको मौनता र लाचारी पनि छ’, विज्ञप्तिमा भनिएको छ ।

अन्तर्राष्ट्रिय कानुन विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि लगातार ठाडो हस्तक्षेप गर्ने भारतको मिचाहा प्रवृत्ति पुनरावृत्त हुँदा नेपाल सरकारले समयमै आवश्यक प्रतिवाद गर्न नसक्ने हो भने त्यसका दुरगामी असर देशले भोग्नुपर्ने विवेकशील साझाले उल्लेख गरेको छ ।

नेपाली भू–भागमा छिमेकीको मनपरी स्वीकार नहुने बताउँदै नेपाली भूमिमा गरिआएका सबै खाले संरचना निर्माण कार्य तत्काल रोक्नुपर्ने अडानसहित भारतसँग अविलम्ब कुटनीतिक संवाद अघि बढाउन विवेकशील साझाले सरकारलाई आग्रह गरेका छ ।

मोदीले के भनेका थिए ?
प्रधानमन्त्री मोदीले हालै उत्तराखण्डको हल्द्वानीमा आफ्नो ¥यालीमा सरकारले जनताको हितका लागि विकास कार्यलाई तीव्रता दिएको बताएका थिए ।

हल्द्वानीमा १७,५०० करोड भन्दा बढीको २३ परियोजनाहरूको शिलान्यास र उद्घाटन गर्दै मोदीले भने, ‘तपाईलाई सुविधाबाट वञ्चित गर्नेहरूले मानसरोवरको प्रवेशद्वारलाई मानसखण्ड सडकसँग जोड्न अस्वीकार गरेको छ ।’
‘हामीले टनकपुर पिथौरागढ अल वेदर रोडमा मात्र काम गरेका छैनौं, लिपुलेकमा पनि सडक बनाएका छौं र थप विस्तारको काम पनि भइरहेको छ ।’

प्रतिक्रिया