कोभिड खोप नीति बाइडेन प्रशासनको क्षेत्राधिकार बाहिर रहेको अदालतकोे ठहर, ट्रम्पद्वारा खुसी व्यक्त
अखबार टुडे
प्रकाशित:
२०७८, ३० पुष

काठमाडौं, ३० पुस (एजेन्सी) । राष्ट्रपति जो बाइडेनको खोप नीतिमाथि अमेरिकी सर्वोच्च अदालतले रोक लगाएको छ ।
ठूला कम्पनीका कर्मचारीहरूले खोप लगाउनुपर्ने र साप्ताहिक रूपमा आफ्नै खर्चमा कोरोनाभाइरसको परीक्षण गर्नुपर्ने खोप नीति बाइडेन प्रशासनको अधिकारभन्दा बाहिर रहेको ‘देशकै माथिल्लो तहको अदालतका न्यायाधीशहरू’ले बताएका हुन् ।

तर उनीहरूले सरकारी कोषबाट चलेका स्वास्थ्य सेवा केन्द्रहरूमा कार्यरत कर्मचारीले खोप लगाउनुपर्ने बाइडनको नीतिलाई भने स्वीकृति दिएका छन् ।

कम्तीमा १०० जना कर्मचारी रहेका कार्यस्थलमा बाइडेन प्रशासनको खोप नीति अन्तर्गत कर्मचारीहरूले कोभिड–१९ विरुद्ध खोप लगाउनुपर्थ्यो वा मास्क लगाउनुपर्थ्यो र आफ्नै खर्चमा साप्ताहिक रूपमा परीक्षण गर्नुपर्थ्यो । सरकारको सो निर्देशनमा करिव आठ करोड ४० लाख कर्मचारी समेटिन्थे ।

बाइडन प्रशासनले यो नीतिले कोरोनाभाइरसको महामारीविरुद्ध लड्न मद्दत गर्ने जनाउँदै आएको छ । जीवन बचाउने ठानेर आफूले ल्याएको नीतिलाई अदालतले अस्वीकार गर्दा त्यसमा आफू निराश भएको बाइडनले बताएका छन् ।
तर सरकारी स्वास्थ्यकर्मीलाई खोप अनिवार्य लगाउने भन्ने आफ्नो नीतिलाई अदालतले स्वीकृति दिन गरेको निर्णयको चाहिँ उनले स्वागत गरेका छन् ।

सर्वोच्च अदालतका ९ न्यायाधीशमध्ये ६ जनाले नीतिविरुद्ध निर्णय सुनाएका हुन् ।
पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले अदालतको आदेशप्रति खुसी व्यक्त गर्दै खोप अनिवार्य लगाउनुपर्ने नीतिले अर्थतन्त्रलाई थप क्षति पु¥याउने बताए । ‘नीतिलाई समर्थन नगरेकोमा हामी सर्वोच्च अदालतमाथि गर्व गर्छौँ,’ उनले एउटा विज्ञप्तिमा भनेका छन् ।

प्रतिक्रिया