अभिनेता पाण्डेले निर्देशन गर्ने ‘परस्त्री’ कस्तो बन्ला ?
अखबार टुडे
प्रकाशित:
२०७८, २९ पुष

काठमाडौं, २९ पुस । निर्देशक दीपेन्द्र के खनालले ‘परस्त्री’ निर्माण गर्ने घोषणा गरेका छन् । दीपेन्द्रको लेखन रहने उक्त फिल्मलाई सुरज पाण्डेले निर्देशन गर्ने बताइएको छ ।

बताइएअनुसार दीपेन्द्रले निर्देशन गरेको ‘लभ लभ लभ’का अभिनेता पाण्डे यही सिनेमाबाट निर्देशक बन्न लागेका छन् । डिएस डिजिटलको ब्यानरमा निर्माण हुने सिनेमामा शर्मिला पाण्डेको लगानी रहनेछ । ‘परस्त्री’ नेपाली र हिन्दी भाषामा निर्माण गरिने जानकारी बताइएको छ ।

गायक तथा अभिनेता कोशिस क्षत्रीको मुख्य भूमिका रहने फिल्मका लागि अन्य कलाकारको खोजी भइरहेको छ । निर्माण समूहका अनुसार सिनेमाका लागि आवश्यक अन्य कलाकार अडिसनमार्फत् छनोट गरिने छन् । २२ देखि २७ वर्षभित्रका अभिनेता, २२ देखि ३० वर्षभित्रकी अभिनेत्री र २० देखि २५ वर्षभित्रकी अन्य अभिनेत्री अडिसनमार्फत् छानिने निर्माण पक्षले जनाएका छन् ।

सामाजिक कथावस्तुमा निर्माण हुने फिल्म फागुन तेस्रो साताबाट छायांकन हुने तयारी छ । सिनेमाको सम्पूर्ण छायांकन काठमाडौंमा गरिनेछ ।

फिल्म निर्माण घोषणाको औपचारिक कार्यक्रममा निर्देशनमा डेब्यु गर्न लागेका अभिनेता पाण्डेले आफ्नो पहिलो प्रथामितामा अभिनयभन्दा निर्देशन रहेको बताए । फिल्म क्षेत्र प्रवेश गरेदेखि नै आफू निर्देशकका रुपमा आउने चाहना भएकाले अध्ययन र अनुसन्धान गरेर ‘परस्त्री’ निर्देशन गर्ने हिम्मत जुटाएको बताए ।

लेखक तथा निर्माता दीपेन्द्रले ‘परस्त्री’को कथा नेपाली परिवेशमा तयार पारिने बताए । आजसम्म आफूले निर्देशन गरेका कुनैपनि सिनेमा विदेशीबाट प्रभावित नरहेकाले यो पनि बिल्कुलै नयाँ बन्ने उनको दावी छ ।

आफ्नो कथालाई निर्देशक पाण्डेले न्याय गर्न सक्ने भएकाले उनलाई निर्देशनको जिम्मेवारी सुम्पेको उनको भनाइ छ । सुरजलाई निर्देशनमा आफूले कुनैपनि किसिमको हस्तक्षेप नगर्ने दाबीसमेत गरेका छन् ।

प्रतिक्रिया