एकैदिन थपिए ३ हजार ५५३ जना संक्रमित, बालबालिकालाई बढी जोखिम
अखबार टुडे
प्रकाशित:
२०७८, २९ पुष

काठमाडौं, २९ पुस । नेपालमा पछिल्लो २४ घण्टामा थप तीन हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार देशभरका प्रयोगशालामा १५ हजार ८१ जनामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । १० हजार ४९८ पीसीआर परीक्षण गर्दा दुई हजार ९२२ जनामा र चार हजार ५८३ एन्टिजेन परीक्षण गर्दा ६३१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

हालसम्म आठ लाख ४१ हजार २९७ संक्रमित भएका छन् । आज एकजनाको मृत्यु भएको छ । यो सँगै कूल मृतकको संख्या ११ हजार ६१० पुगेको मन्त्रालयले जनाएको छ । बिहीबार २७१ जनाले कोरोना जितेका छन् भने १४ हजार २४० सकृय संक्रमित छन् ।

स्रोत स्वास्थ्य मन्त्रालय

बालबालिकालाई बढी जोखिम

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो ९ दिनको तथ्यांकअनुसार संक्रमित हुने बालबालिकाको संख्या ७ गुणाले वृद्धि भएको छ । २१ पुसमा १० वर्षभन्दा मुनिका ७ जना बालबालिकामा संक्रमण पुष्टि भएको थियो । तर, २९ पुसमा उक्त संख्या उकालो लाग्दै ४९ पुगेको छ ।

बालबालिकामा संक्रमणदर बढ्दै जानुमा मुख्य कारण नै खोपको पहुँचमा बालबालिका नहुनु बालरोग विशेषज्ञहरु बताउँछन् । कान्तिबाल अस्पतालका निर्देशक डा. अजित रायमाझीका अनुसार पछिल्ला केही दिनयता कोरोनाका जस्तै लक्षण लिएर आउने बालबालिकाको संख्यामा वृद्धि भएको छ । बालरोग विशेषज्ञहरुको ओमिक्रोनको लहरबाट धेरै बालबालिका संक्रमित हुन सक्ने अनुमान गरेका छन् ।

प्रतिक्रिया