चार दिनभित्रमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याउन मुख्यमन्त्री राईको निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७८, २९ पुष

मोरङ, २९ पुस । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले आगामी चार दिनभित्रमा निर्माणाधीन होल्डिङ सेन्टर सञ्चालनमा ल्याउने बताएका छन् ।

बिहीबार मुख्यमन्त्री राईले विराटनगर सीमा क्षेत्र रानी र होल्डिङ सेन्टरको अनुगमन तथा निरीक्षण पश्चात चार दिनभित्र होल्डिङ सेन्टर सञ्चालनमा ल्याउन निर्देशनसमेत दिए ।
विराटनगर जुटमिलभित्र प्रदेश सरकारको लगानीमा नेपाली सेनाको नेतृत्वमा निर्माणाधीन एक हजार शैययामध्ये तत्काल चार दिनभित्र १०० र आगामी १५ दिनभित्रमा २०० शैयया सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

उनले होल्डिङ सेन्टरमा विद्युत् र पानीको व्यवस्था गरी शौचालयको व्यवस्था गर्न निर्देशन दिए । मुख्यमन्त्री राइले होल्डिङ सेन्टर निर्माण गर्नका लागि रकमको अभाव हुन नदिने प्रष्ट पार्दै जनताको स्वास्थ्य सुरक्षाप्रति सरकार गम्भीर रहेको उल्लेख गरे ।
प्रदेशका सम्पूर्ण सीमा क्षेत्रमा आवागमन व्यवस्थित गरिने, खोप कार्डमार्फत दुवै देशका जनतालाई सीमा क्षेत्रमा आवागमन गराइने, भारतीय क्षेत्रबाट आउने सबैलाई एन्टिजेन परीक्षणको व्यवस्था गर्ने तथा भारतीय क्षेत्रका सम्बन्धित निकायसँग समन्वय गरी कोरोना नियन्त्रयामा क्रियाशील रहने मुख्यमन्त्री राईले बताए ।

निरीक्षण एवं अवलोकनका क्रममा प्रदेशका प्रमुख सचिव डा रामप्रसाद घिमिरे, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख एवं प्रदेशका उच्च पदस्थ कर्मचारी सहभागी थिए ।

प्रतिक्रिया