काठमाडौं, २९ पुस । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको सिफारिसमा सबैजसो सरकारी निकाय तथा सार्वजनिक स्थलहरूमा यही माघ पहिलो सातादेखि खोप कार्डबिना प्रवेश निषेध गर्ने व्यवस्था कार्यान्वयन गरिँदैछ ।
भिडभाड बढी हुने रेस्टुराँ, सिनेमाहल, रङ्गशालाजस्ता स्थानमा पनि त्यस्तै व्यवस्था गर्न सम्बन्धित सरकारी निकायहरूले निर्देशन दिइसकेका छन् । अब सरकारी कार्यालयसहित होटल, रेस्टुराँ, हल, रङ्गशाला, पार्क लगायतमा प्रवेशका लागि माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य हुनेछ ।
आन्तरिक उडानका लागि विमानस्थल प्रवेशका लागि भने माघ ३ गतेदेखि नै खोप कार्ड अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था गरिएको अधिकारीहरूले बताएका छन् । विभिन्न सरकारी निकायले निकालेका सूचनामा खोप कार्ड लागु भएपछि सबैले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ । तर त्यसका लागि खोप कार्ड नै बोक्नुपर्छ भन्नेचाहिँ छैन ।
मानिसहरूले प्रमाणित हुने खालको खोप कार्डको तस्बिर मोबाइलमा देखाए पनि हुनेछ । स्वास्थ्य मन्त्रालयले माघबाटै सुरु गर्न लागेको तेस्रो मात्रा खोप लगाउनका लागि पनि त्यस्तो कार्ड आवश्यक पर्ने अधिकारीहरूको भनाइ छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका भनाइमा खोप कार्ड अब धेरै कामका लागि आवश्यक पर्छ ।
उनले खोप कार्ड नहराउन समेत भनेका छन् । कार्ड हराएका र नपाएका व्यक्तिले के गर्ने ? हालैका दिनमा खोप कार्ड हराएका व्यक्तिहरूले खोप कार्ड नै बनाउनका लागि आफूले एक पटक पनि खोप नपाएको भन्दै थप मात्रा खोप लिएको भेटिएको विवरण पनि आएका थिए ।
तर अधिकारीहरूले खोप कार्ड हराएका र केही स्थानमा पहिले कार्ड सकिएकाले पाउन नसकेका व्यक्तिहरूले सहजै त्यस्तो कार्ड पाउने बताएका छन् । स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख सागर दाहालका अनुसार त्यस्ता व्यक्तिहरूले आफूले खोप लिएकै स्थानबाट कार्ड प्राप्त गर्न सक्नेछन् ।
अन्यत्रबाट कार्ड लिन खोज्दा यकिन विवरण नहुने भएकाले आफूले खोप लगाएकै स्थानमा जान दाहाल आग्रह गर्छन् । उनले पहिला खोप कार्ड नभएर केही स्थानमा खोप लगाउनेहरूले पनि कार्ड नपाएको कुरा साँचो भएको स्वीकार्दै अहिले कार्ड नपाउने भन्ने अवस्था नरहेको बिबिसी नेपालीसँग बताएका छन् ।