विस्फोटक पदार्थ पत्ता लगाउने स्वर्ण पदक पाएको मुसाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, २८ पुष

काठमाडौं, २८ पुस (एजेनसी) । स्वर्ण पदक पाएको चर्चित मुसा ‘मागावा’को आठ वर्षको उमेरमा मृत्यु भएको छ । बेल्जियमको संस्था अपोपोले अफ्रिकन जायन्ट पाउचु प्राजातिको सो मुसाको गत सप्ताहान्तमा मृत्यु भएको जनाएको हो ।

सन् २०१४ मा अफ्रिकी मुलुक तान्जेनियामा जन्मिएको मागावालाई एक वर्षको तालिमपछि काम गर्न सन् २०१६ मा कम्बोडिया पठाइएको थियो । उसको काम थियो– जमिनमूनि गाडिएका बिस्फोटक पदार्थ पत्ता लगाउने ।

लामो समय गृहयुद्ध भोगेको कम्बोडियामा अहिले पनि जमिनमूनि गाडिएका बिस्फोटक पदार्थले थुप्रै मानिसको ज्यान लिने गरेका छन्। युद्धका समयमा गाडिएका ल्यान्डमाइन बिस्फोट हुँदा हजारौं मानिस अंगभंग भएका छन्। कम्बोडियाको जमिनमूनि रहेका बिस्फोटक पदार्थ पत्ता लगाउन मागावाले पाँच वर्ष काम गरेको थियो ।

पाँच वर्ष लामो सेवामा मागावाले क्याम्बोडियामा १०० भन्दा बढी ल्याण्डमाइन अर्थात जमिनमुनि बिछ्याइएको विस्फोटक र अन्य विस्फोटक पदार्थ पत्ता लगाएको थियो । क्याम्बोडियामा ६० लाख ल्याण्डमाइन, जमिनमुनि राखिएका विस्फोटक पदार्थहरू रहेका मानिन्छ । विस्फोटक पदार्थको रसायन सुँघ्ने तालिम पाएको मागावाले २० वटा फुटबल मैदान जति वा १५,१७,७११ वर्ग फिट जमिनलाई सफा गर्न सघाएको थियो ।

एक किलो २०० ग्राम तौल र २८ इन्च लामो मागावा अन्य प्रजातिको मुसाको तुलनामा ठूलो भए पनि विस्फोटक पदार्थमाथि पर्दा पनि विस्फोटन नगराउने तौलको थियो । मागावाले एउटा टेनिस मैदान जति जमिन २० मिनेटमा निरीक्षण गर्न सक्थ्यो जुन कार्य गर्न मानिसलाई धातु पत्ता लगाउने यन्त्रको सहायताले एकदेखि चार दिन लाग्ने अपोपोले बताएको छ ।

अपोपोले विस्फोटक पदार्थबारे मानिसलाई जानकारी दिने काममा तालिम दिएकोमध्ये त्यो सबैभन्दा सफल मुसा थियो । सन् २०२० मा मागावालाई जीवन बचाउने कार्य गरेको भनेर पीडीएसए स्वर्ण पदक दिइएको थियो । अपोपोले ७७ वर्षको इतिहासमा मुसालाई यो पदक दिएको पहिलो पटक होे ।

मागावालाई एपिओपिओ नामक संस्थाले तान्जेनियामा ल्यान्डमाइन पत्ता लगाउने तालिम दिएको थियो। ल्यान्डमाइन पत्ता लगाएबापत मुसालाई मन पर्ने खानेकुरा दिने लगायत विधि अपनाएर तालिम दिइन्छ। मुसाहरूले आधा घन्टामा दुई सय स्क्वायर फिटसम्म जमिन स्क्यान गर्न सक्छन् त्यही काम गर्न मानिसलाई चार दिनसम्म लाग्न सक्छ । मागावाको निधनमा एपिओपिओले गहिरो दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया