केही साताभित्र आधा युरोप ओमिक्रोन भेरिअन्टबाट संक्रमित हुने डब्लूएचओको चेतावनी
अखबार टुडे
प्रकाशित:
२०७८, २८ पुष

काठमाडौं, २८पुस । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आगामी डेढदेखि दुई महिनासम्ममा आधा युरोप कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्टबाट संक्रमित हुने चेतावनी दिएको छ ।

डब्ल्यूएचओका डा. हान्स क्लगका अनुसार ओमिक्रोन पश्चिमदेखि पूर्वसम्म छालको रूपमा युरोपमा फैलिरहेको छ । ओमिक्रोन सङ्क्रमणको गति डेल्टा भेरिअन्टको वृद्धिदरभन्दा उच्च भएको डब्लूएचओले जनाइएको छ ।

यो प्रक्षेपण सन् २०२२ को पहिलो साता युरोपभरि पुष्टि भएका ६० लाख नयाँ संक्रमणका आधारमा गरिएको हो । गत दुई साताको अवधिमा युरोपमा सङ्क्रमितको संख्या दोबरभन्दा बढी भएको छ ।

‘सन् २०२१ को अन्त्यसम्म सबै देशले खेपिरहेको डेल्टा भेरिअन्टको लहरमा थपिएको ओमिक्रोन भेरिअन्टले पश्चिमबाट पूर्वतिर फैलिरहेको आँधीको प्रतिनिधित्व गर्छ’ डा. क्लगले पत्रकार सम्मेलनमा भनेका थिए ।

उनले हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसन इन्स्टिच्युटलाई उद्धृत गर्दै आगामी ६ देखि आठ हप्तामा युरोप क्षेत्रका ५० प्रतिशतभन्दा बढी जनसंख््या ओमिक्रोनबाट संक्रमित हुने चेतावनी दिएका हुन् ।

भाइरस पश्चिमी देशहरूबाट फैलिएकाले युरोपेली र मध्य एशियाली देशहरू संक्रमणको तीव्र दबावमा रहेको उनको भनाइ छ ।
उनले भने, ‘अब कुन देशले यस परिस्थितिमा के गर्ने भन्ने कुरा त्यहाँको महामारीको अवस्था, उपलब्ध स्रोतहरू, खोप वितरणको स्थिति र सामाजिक–आर्थिक सन्दर्भका आधारमा निर्धारण गर्नुपर्छ ।’

पछिल्ला अध्ययनहरूका अनुसार ओमिक्रोनले मानिसहरूलाई कोभिडका पुराना भेरिअन्टहरूको तुलनामा गम्भीर रूपमा बिरामी पार्ने सम्भावना कम छ । तर यो अत्यधिक संक्रामक भेरिअन्टले पूर्ण मात्रा खोप लगाए पनि सङ्क्रमित गर्न सक्छ । यस भेरिअन्टको सङ्क्रमण दरले स्वास्थ्य प्रणालीमा तनाव सिर्जना गरेको छ ।

यूकेमा धेरै अस्पतालहरूले कर्मचारीको अनुपस्थिति र कोभिड–१९ का कारण बढ्दो दबावका कारण स्थिति ‘गम्भीर’ भएको घोषणा गरेका छन् ।
फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभर भेरानले गत हप्ता ज्यानुअरी अस्पतालहरूका लागि कठिन बन्ने चेतावनी दिएका थिए । उनले ओमिक्रोन बिरामीहरूले अस्पतालका सामान्य शय्या ओगटेको र डेल्टा भेरिअन्ट संक्रमितहरू भने सघन उपचार कक्षसम्म पुगेका थिए ।

पूर्वी युरोपस्थित पोल्यान्डमा महामारी सुरु भएदेखि हालसम्म सङ्क्रमणका कारण एक लाख मानिसको मृत्यु भएको जनाइएको छ । त्यहाँ कोभिड–१९ का कारण भएको मृत्युदर विश्वको छैटौँ उच्च हो । त्यस देशका लगभग ४० प्रतिशत जनसङ्ख्याले खोप लगाएको छैन ।
रुसकी स्वास्थ्य अधिकारी अन्ना पोपोभाले सरकारको कोरोनाभाइरस कार्यदललाई सङ्क्रमण नियन्त्रणका लागि कुनै कदम नउठाए देशको दैनिक सङ्क्रमण दर एक लाख पुग्न सक्ने बताएकी थिइन् ।

समाचार संस्था रोएटर्सका अनुसार नोभेम्बर महिनाको सुरुमा पुष्टि भएको ४१,३३५ दैनिक सङ्क्रमण संख््या केही समययता घटिरहेको थियो । पोपोभाका अनुसार देशभरका १३ क्षेत्रमा ३०५ जनामा ओमिक्रोन भेरिअन्ट देखिएको छ ।

सोमबार फाइजरले ओमिक्रोनविरुद्ध विशेष सुरक्षा प्रदान गर्ने खोपको नयाँ संस्करण आउँदो मार्चमा सार्वजनिक गर्ने बताएको थियो । विज्ञहरूले भने त्यसको उपयोगिताको महत्त्व स्पष्ट नभएको बताएका छन् । (बिबिसीबाट)

प्रतिक्रिया