काठमाडौं, २७ पुस । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नेकपा (माओवादी केन्द्र) लगायतका पूर्वमाओवादी घटकहरूसँग एकताको सम्भावना नरहेको बताएका छन् ।
मङ्गलबार क्रान्तिकारी पत्रकार महासङ्घले काठमाण्डौमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव वैद्यले नेकपा (माओवादी केन्द्र) , मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग एकताको सम्भावना नदेखिएको बताएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता हुन्छ भनेर लगातार भनिरहेको भए पनि त्यो पार्टीसँग एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारे । आफूहरूले वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थालाई स्वीकार गर्न नसक्ने र माओवादी केन्द्र संसदीय व्यवस्थाको संरक्षकको रूपमा अघि बढेकाले एकताको सम्भावना नरहेको उनको तर्क थियो ।
प्रचण्डको पछिल्लो दस्तावेजमा पनि संसदमा जानु, सेना समायोजनमा जानु गल्ती भयो नभनेको, बरु विद्रोहको कुरा गर्नु गल्ती भयो भनेको भन्दै क्रान्तिकारी माओवादीका महासचिव बैद्यले अघि भने, ‘उहाँहरूले संसदीय व्यवस्था स्वीकार गरिसक्नुभएको छ, उहाँहरुसँग एकताको प्रयत्न गर्न जरुरी छैन । हाम्रो पार्टी एकता सम्भव छैन ।’
उनले नेकपा मसाल र विप्लवसँग पनि एकताको सम्भावना नदेखिएको बताए । ती पार्टीसँग पनि राजनीतिक लाइन नमिलेको उनको भनाइ छ । छिट्टै क्रान्ति गर्नुपर्छ भनेर विप्लवहरू अलग भएर गएको तर, शान्तिपूर्ण राजनीति गर्ने भनेर तीनबुँदेमा आएको उनले स्मरण गरे । उनले मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालले एउटा खुट्टा संघर्षको मैदानमा र अर्को खुट्टामा सरकारतिर राखेकाले एकता सम्भव नभएको उनले बताए ।
कार्यक्रममा बोल्दै महासचिव वैद्यले एमसीसी परियोजना राष्ट्रघाती भएकाले खारेज हुनुपर्ने बताए । त्यसैगरी लिपुलेक, लिम्पियाधुरा र कालापानीको समस्या जटिल भइरहेको भए पनि नेपाल सरकार भने चुप लागेर बसेको उनले बताए ।
महासचिव वैद्यले राष्ट्रिय स्वाधीनताको निम्ति सशक्त रूपमा उभिनुपर्ने आवश्यकता औँल्याए ।