सगरमाथा चढेर आफ्नो इच्छा पूरा गर्ने तयारीमा अभिनेत्री दिया पुन
अखबार टुडे
प्रकाशित:
२०७८, २७ पुष

काठमाडौं, २७ पुस । अभिनेत्री दीया पुनले अप्रिल महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छन् । यसअघि ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल चढिसकेकी उनले निजी खर्चमा सगरमाथा आरोहण गर्न लागेको बताइन् ।

चलचित्र ‘बिर बिक्रम’बाट नेपाली रजतपटमा प्रवेश गरेकी अभिनेत्री दिया पुनले ह्याप्पी डेज, ‘मिस्टर झोले’, ‘दया रानी’ र ‘मन्त्र’जस्ता चलचित्रमा काम गरिसकेकी छन्। दियाले सौगात मल्लसँग स्क्रिन शेयर गरेको चलचित्र ‘मन्त्र’ सामान्य अवस्था रहेमा यहि माघ २८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने छ । हाल बेलायतका रहेकी दिया चलचित्र ‘मन्त्र’को प्रचारप्रसारका लागि नेपाल आउने तयारीमा पनि रहेकी छन् ।

खिल बहादुर गुरुङ निर्देशित चलचित्र ‘मन्त्र’ले हिमाली प्रेम कथा बोल्छ । यस चलचित्र मार्फत सौगात र दियाले पहिलो पटक स्क्रिन शेयर गरेका छन् । चलचित्रमा नमिता घिसिङ्ग, बीरबहादुर लामा, पासाङ्ग टि शेर्पाको पनि मुख्य भूमिका रहेको छ । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ ।

हङकङमा जन्मेर कहिले नेपाल, कहिले बु्रनाइ हुँदै सन् २००० देखि बेलायतमा बसोबास गर्दै आएकी पुनको हिमाल चढ्ने रहर भने सन् २०१८ बाट शुरु भएको हो । त्यो वर्ष उनले अर्जेण्टिनाको ६ हजार ९६१ मिटर अग्लो माउण्ट अकोनकागुवा चढिन् । त्यसयता हरेक वर्ष एउटा हिमाल चढ्ने उनको योजना थियो तर कोभिड महामारीका कारण रसियाको सबैभन्दा अग्लो हिमाल इल्ब्रस र अफ्रिकाको सबैभन्दा अग्लो माउण्ट किलिमञ्जारो चढ्ने योजना भने अधूरै रह्यो ।

सन् २०२२ मा सगरमाथा चढ्ने उनको पुरानै योजना हो । तर कोभिड महामारीका बेला बेलायतको कोलचेष्टर अस्पतालमा नर्सका रुपमा कार्यरत रहँदा उनले बिरामीको मात्र होइन धेरै सहकर्मीको मानसिक स्वास्थ्य स्थितिलाई नजिकबाट नियाल्न पाइन् । त्यसैले सगरमाथा आरोहण यात्रालाई उनले आफ्नो व्यक्तिगत सौख पूरा गर्न मात्र होइन नर्सहरुको मानसिक स्वास्थ्यसित पनि जोडेकी छन् ।

सगरमाथा आरोहणमार्फत तीनवटा च्यारिटीका लागि सहयोग संकलन गर्ने उनले बताइन् । जसमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) च्यारिटी टुगेदर, उनी कार्यरत कोलचेष्टर अस्पताल च्यारिटी र नेपालमा रहेको चिल्ड्रेन एण्ड युथ फर्स्ट रहेका छन् ।

उनी भन्छिन्, ‘कतिले अर्कै पेशा रोजेको पनि देखेँ । त्यसैले सगरमाथा चढ्दा आफ्नो व्यक्तिगत इच्छा मात्र पूरा नगरेर सहकर्मीहरुका लागि केही सहयोग गरौँ भन्ने उद्देश्य राखेको हुँ ।’

प्रतिक्रिया