काठमाडौं, २७ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार पश्चिम मूलढोकामा अवस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका सालिकमा पुष्पहार अर्पण गरेकी छन् ।
३००औँ पृथ्वीजन्मयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा संयुक्त रुपमा मंगलबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाल एकीकरणका नायकप्रति पुष्पहार अर्पण गरेर सम्मान प्रकट गरेकी हुन् ।
सोही अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले तथा आयोजक चारवटै संस्थाका तर्फबाट पनि राष्ट्रनिर्माताका सालिकमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा पूर्व उपप्रधानमन्त्री कमल थापाले पनि राष्ट्रनिर्माताका सालिकमा माल्यार्पण गरेका थिए ।
विसं १७९९ चैत २५ गते राजा बनेका पृथ्वीनारायण शाहले ५२ राज्यमा विभक्त राज्यलाई एकीकरण गरेका थिए । विसं १८२६ मा काठमाडौँ उपत्यकाका तीन वटै राज्य विजयी गरी यहीँ राजधानी स्थापना गरेका थिए ।