उत्तर कोरियाद्धारा पुनः अज्ञात क्षेप्यास्त्र प्रहार
अखबार टुडे
प्रकाशित:
२०७८, २७ पुष

सोल, २७ पुस (एजेन्सी) । उत्तर कोरियाले मंगलबार समुद«तर्फ पुनः एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ ।
दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले मंगलबार बिहान सो दाबी गरेका छन् । उनले पूर्वी समुद्रतर्फ सो क्षेप्यास्त्र प्रक्षेपण गरेको बताएका हुन् ।

यो प्रक्षेपण ब्यालिस्टिक मिसाइल हुन सक्ने बताइएको छ । जापानिज कोस्ट गार्ड (जेसीएस) ले यो क्षेप्यास्त्र मिसाइल हुन सक्ने बताएका हुन् । यसबारेमा अझै पनि यकिन भने हुन सकेको छैन ।

उत्तर कोरियाले गरेको यस क्षेप्यास्त्रको बारेमा दक्षिण कोरिया र जापानले आवश्यक अनुसन्धान थालेका बताएका छन् ।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक मिसाइल प्रक्षेपणमा प्रतिबन्ध लगाएको छ । मंगलबारको यस प्रक्षेपणका बारेमा दक्षिण कोरिया र अमेरिकी गुप्तचरहरूले अनुसन्धान गरिरहेका बताइएको छ ।

उत्तर कोरियाले केही दिनअघि हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले जनाएको थियो ।
गत बुधबार एकेडेमी अफ डिफेन्स साइन्सले प्रक्षेपण गरेको सो मिसाइलले ७०० किलोमिटर टाढाको लक्ष्यमा ठ्याक्कै प्रहार गर्नुअघि १२० किलोमिटर पछाडी चलेको थियो जसले नयाँ इन्धन प्रणालीको विश्वसनीयता प्रमाणित गरेको थियो । यसै हप्ता उत्तर कोरियाले दुई वटा क्षेप्यास्त्र हानेको छ ।

प्रतिक्रिया