कोमल वलीको राष्ट्रियसभा सदस्य पद सकिँदै, एमालेले सिट गुमाउँदै
अखबार टुडे
प्रकाशित:
२०७८, २७ पुष

काठमाडौं, २७ पुस । रेडियोकर्मी, गायिका हुँदै राष्ट्रियसभा सदस्य बनेकी कोमल वलीको पदावधि सकिँदैछ । नेकपा एमालेको तर्फबाट राष्ट्रियसभा सदस्य बनेकी हुन् कोमल वली । तर, अब, कोमल वलीको सिट समेत एमालेले गुमाउँदैछ ।

लुम्बिनीमा एक महिला, एक दलित र एक अन्य गरी तीन सिटसहित १९ सिटका लागि आगामी माघ १२ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ ।
राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनले जुन पार्टीको सांसदको पदावधि सकिने हो सोही पार्टीबाटै उम्मेदवारी दिने गरी चुनावी तालमेल गरेका छन् । एमालेबाट रिक्त हुने आठ पदका लागि कांग्रेसले तीन, जसपाले दुई तथा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले एक–एक सिटमा उम्मेदवारी दिने सहमति गरेका छन् ।

यसअघिको राष्ट्रियसभा उपनिर्वाचनमा पनि गठबन्धनमा आवद्ध दलहरूले साझा उम्मेदवार उठाएर विजयी गराएकाले आगामी निर्वाचनमा पनि १९ वटै सिट सुरक्षित गर्ने रणनीतिमा गठबन्धन दलहरू छन् । त्यसैले वलीको सिट समेत एमालेले गुमाउने निश्चित जस्तै देखिएको छ ।
कम्युनिष्ट आन्दोलनमा कुनै योगदान नभएकी वलीलाई चाकडीकै भरमा संसद र पार्टीमा अवसर दिँदै आएका छन् । उनी एमाले हुनुअघि राप्रपाको केन्द्रीय सदस्य थिइन् ।

राप्रपाबाट एमाले बनेपछि सांसद पदको गरिमासमेत ख्याल नगरी केपी शर्मा ओलीलाई खुसी पार्न वलीले विवादास्पद अभिव्यक्ति दिने गरेकी थिइन् । ओली सत्तामा हुँदा उनलाई खुसी पार्नकै लागि वलीले राष्ट्रिय सभामा ‘बाँदरको जमात र अमृतपानको सपना’ शीर्षकको कविता नै सुनाएर अन्य शीर्ष नेताहरूको मानमर्दन गरेकी थिइन । त्यतिखेर वलीले आफ्नो हैसियत देखाएको भन्दै सो अभिव्यक्तिको चौतर्फी आलोचना भएको थियो ।

प्रतिक्रिया