
काठमाडौं, २७ पुस । आज पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाइँदैछ । प्रत्येक वर्ष पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रमको आयोजना गरी देशभर मनाउने गरिन्छ ।
लोकतन्त्रपछि सरकारले औपचारिक रुपमा पृथ्वीजयन्ती मनाउन छाडे पनि अनौपचारिक रुपमा विभिन्न कार्यक्रम हुँदै आएका छन् । कार्यक्रममा शाहले आधुनिक नेपाल निर्माणको जग बसाएको, दिव्योपदेश मार्फत राज्य सञ्चालनका लागि मार्गदर्शन गरेकोलगायत योगदानको स्मरण गर्ने गरिन्छ ।
विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो ।
विसं १७९९ चैत २५ गते अन्य राज्यका राजाहरुलाई लखेटेर पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल विभिन्न ५२ राज्य रहेका थिए । शाह राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार भएको थियो । पृथ्वीनारायण पछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेका थिए ।
पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका कब्जा गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गरेका थिए ।
सबै जातजाषि, भाषाभाषी समुदायको सहयोगमा राजा बनेका शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३००औँ जन्मजयन्ती मनाइँदैछ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानको आयोजनामा कमलादीबाट सांस्कृतिक झाँकी एवं बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोकास्थित पृथ्वीनारायण शाहको सालिकमा जम्मा भई माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी दिउँसो साढे दुई बजे जमलस्थित राष्ट्रिय नाचघरमा नेपालका विभिन्न सांस्कृतिक झलकको प्रस्तुति गरिने भएको छ । यस्तै अन्य सङ्घसंस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर पृथ्वीजयन्ती मनाउँदैछन् ।