काठमाडौं, २७ पुस । नेपालमा पुनः कोरोनाग्राफ उकालो चढ्दै गएको छ । आइतबार देशभर ११६७ जनामा संक्रमण देखिएको थियो । यस्तै सोमबार १,४४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या आइतबारको भन्दा २७९ बढी हो । यस्तै, गएको शनिबार ९४४ जनामा कोरोना पुष्टि भएको थियो ।
शनिबारयताको ग्राफ हेर्दा नेपाल पुनः कोरोना संक्रमणले भयावह रुपमा लिने संकेत गरेको छ । पछिल्लो समय अनियन्त्रित भीडभाडका कारण संक्रमण बढ्दै गएको विज्ञहरुको भनाइ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा १३५७ जना र २ हजार ४६४ एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी १,४४६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २५५ जना संक्रमणमुक्त भएका छन् ।
सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३१ हजार ४५० पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६०६ पुगेको छ भने ८ लाख १४ हजार ४८५ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ जना रहेका छन् । जसमध्ये ७ हजार २४५ जना होम आइसोलेसनमा रहेका छन् भने ६१० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६७ जना आईसीयू र १६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका २६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १४९ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौं उपत्यकामा ८७६ जना संक्रमित
यस्तै, काठमाडौं उपत्यकामा थप ८७६ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ६७५, ललितपुरमा १३६ र भक्तपुरमा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाबाहेक सोमबार सबैभन्दा धेरै मोरङमा ७२, कास्कीमा ५८, चितवनमा ४५, रुपन्देहीमा ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै झापामा ३१, धनुषामा १८, मकवानपुर र दाङमा १६÷१६ जना, कैलालीमा १४, पश्चिम नवलपरासीमा १३, सिरहा र बाँकेमा १२÷१२ जना, काभ्रेपलाञ्चोकमा ११ तथा तनहुँ र स्याङजामा १०÷१० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।