नेत्री सुकीलाई चार वर्ष जेल सजाय
अखबार टुडे
प्रकाशित:
२०७८, २६ पुष

याङ्गुन, २६ पुस । म्यानमारको एक अदालतले सोमबार प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई तीन आपराधिक आरोपमा दोषी ठहर गर्दै वर्षको जेल सजाय सुनाएको छ ।

स्रोतले एएफपीलाई दिएको जनाकारी अनुसार ७६ वर्षीय वृद्धालाई अवैध रूपमा वाकी–टकीहरू आयात गर्ने र स्वामित्व राख्ने र कोरोनाभाइरस नियमहरू उल्लंघन गरेको दुई आरोपमा दोषी ठहराइएको छ ।

उनलाई बिनालाइनसेन्सको ‘वाकी टकी’ राखेको आरोपमा दुई वर्ष र कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्ध उल्लंघन गरेको आरोपमा दुई वर्ष गरी चार वर्ष जेलसजाय सुनाइएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजीराले जनाएको छ । जुनटाका प्रवक्ता मेजर जनरल जाव मिन टुनले उक्त फैसला र सजायको पुष्टि गरेका छन् ।

नोबेल पुरस्कार विजेता नेत्री सुकीलाई फेब्रुअरी १ देखि हिरासतमा राखिएको छ । हाल म्यनमारको सैनिक शासन यता १,४०० भन्दा बढी नागरिकहरू मारिएका छन्, थुप्रै पक्राउ परेका छन् र शृङ्खलाबद्ध विद्रोहहरू भइरहेका छन् ।

सेनाले गत फेब्रुअरीमा भएको ‘कू’पछि सुकीलाई नियन्त्रणमा लिएर झण्डै १ दर्जन अभियोग लगाएको थियो । तर सुकीले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएकी छन् ।

सुकीमाथि लगाइएका अभियोग राजनीतिक प्रेरित भएको सैनिक शासनका आलोचकहरू बताउँछन् । यदि सबै अभियोगमा दोषी पाइएमा उनलाई १०० वर्षभन्दा बढी जेल सजाय हुन सक्ने अलजजिराले जनाएको छ ।

गत महिना समेत प्रदर्शन उक्साएको र कोभिड–१९ सम्बन्धी प्रोटोकल उल्लंघन गरेको आरोपमा ४ वर्षको जेल सजाय सुनाइएको थियो । तर सैनिक नेतृत्वले पछि उक्त सजाय कटौती गरी २ वर्षमा झारेको थियो ।

प्रतिक्रिया