काजकिस्तानमा आन्दोलनका क्रममा १६४ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, २६ पुष

काठमाडौं, २६ पुस (एजेन्सी) । काजकिस्तानमा आन्दोलनका क्रममा अहिलेसम्म १६४ जनाको मृत्यु भएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्धमा सुरु भएको आन्दोलन चर्किदै गएपछि भएका झडपमा परी उनीहरुको मृत्यु भएको हो ।

स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार मृत्यु भएकाहरुको सङ्ख्या अझ बढी पनि हुनसक्ने छ । झन्डै एक करोड ९० लाख जनसङ्ख्या भएको मध्य एसियाली राष्ट्र काजकिस्तानमा अहिले भइरहेको उथलपुथलका कारण झन्डै छ हजार मानिस विस्थापित भएका छन् ।

आन्दोलनका क्रममा मृत्यु भएका कूल १६४ जनामध्ये १०३ जनाको सबैभन्दा ठूलो सहर अल्माटीमै मृत्यु भएको हो ।मृतकको सङ्ख्याका आधारमा पनि अल्माटी मै आन्दोलन सबैभन्दा बढी चर्किएको र आन्दोलनको केन्द्रविन्दु बनेको सहरका रुपमा देखिएको छ ।

राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको वक्तव्यका अनुसार विस्थापित भएकामध्ये केही विदेशी नागरिक पनि रहेका छन् । ‘सामान्यतया देशभरीको अवस्था अहिले स्थीर नै रहेको छ, तर कतिपय ठाउँमा सुरक्षाकर्मीहरु बढी सक्रिय र आक्रामक हुनु परेको छ, उनीहरुले सुरक्षा कारबाही पनि चलाएका छन्,’ वक्तव्यमा लेखिएको छ ।

राष्ट्रपति कास्यम जोमार्ट तोकायेभले सङ्कट व्यवस्थापनका बारेमा सरोकारवालाहरुसँग छलफल गरेपछि राष्ट्रपति कार्यालयले वक्तव्य जारी गरेको हो । मूल्य वृद्धिविरोधी आन्दोलनका कारण राष्ट्रपतिले सरकार नै विघटन गरेर सङ्कटकालसमेत घोषणा गरे भने देशभरी अहिले पनि आन्दोलन चर्किरहेको छ ।

आन्दोलनकारीहरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धि अवैज्ञानिक र अस्वस्थ रहेको दाबी पनि गरेका छन् । आन्दोलनका क्रममा अरु सयौँ गिरफ्तार भएको र केही घाइते पनि भएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया