लुटेराद्वारा नाइजेरियामा नागरिकहरूको हत्या– कम्तिमा २०० को मृत्यु, १० हजार बढी विस्थापित
अखबार टुडे
प्रकाशित:
२०७८, २५ पुष

अबुजा, २५ पुस (एजेन्सी) । लुटेराहरूको आक्रमणमा परी नाइजेरियामा २०० भन्दा बढीको मृत्यु भएको छ । हिंसात्मक घटनाका कारण अन्य हजारौँ विस्थापित भएको अधिकारीहरूले आइतबार बताएका छन् ।

यसअघि शुक्रबार बन्दुकधारीहरूको आक्रमणमा परी कम्तीमा १४० भन्दा बढीको मृत्यु भएको दाबी गरिएको थियो । लुटेराहरूको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रमा निर्दोष नागरिकहरूको हत्या गरेको जनाइएको छ ।

स्थानीय एक नेताले लुटेराहरूको समूहले आम नागरिकमाथि हिंसात्मक आक्रमण गरेको बताएका छन् । आक्रमणकारीका सयौँ लडाकूहरू मोटरसाइकलमा आएर आक्रमण गरेको पनि स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।
उनीहरूले १० गाउँमा आक्रमण गरेका हुन् । आक्रमणकारीहरूले घरघरमै गएर गोली प्रहार गर्ने, लटपाट गर्ने गरेको स्थानीयको भनाइ छ ।

घटनापछि आइतबार पहिलो प्रतिक्रिया दिँदै मानवीयता मामिला मन्त्री सादीया उमर फारौकले घटना अत्यन्त दुःखद् र दर्दनाक भएको बताए । घटनाका कारण १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । ‘विस्थापित भएका व्यक्तिहरूका बारेमा पनि सरकारले सोचिरहेको छ, सक्दो सहयोग सरकारले गर्नेछ,’ उनले भने ।

विस्थापित भएकाहरूलाई तत्काल आवश्यक पर्ने सामग्री र स्रोत साधनहरू पठाउने तयारी भइरहेको पनि उनले जानकारी दिए । नाइजेरियामा लामो समयदेखि लडाकू तथा हिंस्रक समूहले आम नागरिकलाई दुःख दिने गरेका छन् भने उनीहरूसँग सरकारी पक्षले सङ्घर्ष गरिरहनु परेको छ ।

सरकारले उनीहरूलाई आतङ्वादी समूहको रूपमा घोषणा गरेर सुरक्षा कारबाही पनि चलाउँदै आएको छ । तर हिंसात्मक घटनाहरू भने निरन्तर भइनै रहेका छन् ।

प्रतिक्रिया