झापा, २५ पुस । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारलाई घृणा गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरेका छन् ।
आइतबार झापाको भद्रपुर–१० चन्द्रगढीस्थित शहीद मनोज झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवनको उद्घाटनमा आग्रह गर्दै उनले भने, ‘देशको गरिमा उच्च पार्न र मुलुकलाई विकसित बनाउनका लागि भ्रष्टाचारलाई जरैदेखि हटाउन आवश्यक छ ।’
उनले थपे, ‘भ्रष्टाचारलाई घृणा गर्नुहोस्, ढिलासुस्ती नगरेर जनताको मन जित्नेगरी काम गर्नुहोस् ।’
अध्यक्ष ओलीले मानिस कुनै न कुनै राजनीतिक विचारबाट प्रेरित हुने गरेको बताउँदै कर्मचारी पनि त्यसबाट भिन्न नरहेको उल्लेख गरे । उनले कर्मचारी संयन्त्र जनताको सेवा गर्ने संयन्त्र हो बताउँदै काम गर्ने बेलामा कर्मचारीले निरपेक्ष भएर जनताको काम गर्नुपर्ने बताए ।
अध्यक्ष ओलीले राजनीतिक परिवर्तनमा कर्मचारीको योगदान उच्च रहेको उल्लेख गर्दै लोकतन्त्र खोसिएको अवस्थामा कर्मचारी सङ्कट मोचनमा अग्रसर भएको बताए । उनले कर्मचारीको हकहितका लागि लोकतान्त्रिक मान्यतालाई संरक्षण र सम्बद्र्धन गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
अध्यक्ष ओलीले चुनावमा निष्पक्ष रुपमा काम गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह समेत गरे ।