उपत्यकाभित्र भिडभाड हुने स्थानहरूमा थप कडाइ गर्ने सरकारको तयारी
अखबार टुडे
प्रकाशित:
२०७८, २५ पुष

काठमाडौं, २५ पुस । नेपालमा पछिल्ला केहि दिनयता कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्दैगएपछि काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले भिडभाड हुने स्थानहरूमा थप कडाइ गर्ने तयारी गरेका छन् ।

कोभिड–१९ व्यवस्थापन समन्वय केन्द्र (सिसीएमसी) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार आफूहरू अगाडि बढ्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको भनाई छ ।
जनस्तरमा स्वास्थ्य सम्बन्धी मापदण्डको पालना नभएकोले कोरोनाविरूद्ध खोप अभियानलाई तीव्रता दिने, स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउने र भिडभाड हुने ठाउँ नियन्त्रण गर्ने उपत्यकाका सिडओहरुको तयारी रहेको छ ।

यस्तै काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले कोरोना संक्रमणको अवस्थाबारे एक÷दुई दिनमा उपत्यकाभित्रका सिडिओहरू बैठक बस्ने बताए ।

दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण नेपालसहित विभिन्न देशमा पुष्टि भइसकेको छ । यो भेरिअन्टलाई त्यहाँका वैज्ञानिकहरूले सम्भावित चिन्ताको विषय भएको बताएका छन् ।
शनिबार नेपालमा ९६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया