पाकिस्तानमा हिउँमा रमाउन गएका सयौँ मानिस अलपत्र, बालबालिकासहित २२ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, २५ पुष

काठमाडौं, २५ पुस । उत्तरी पाकिस्तानको पञ्जाब प्रान्तमा ठूलो हिमपात हुँदा सवारीसाधनभित्र फसेका कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
स्थानीय आकस्मिक उद्धार सेवा ११२२ का अनुसार मृत्यु हुनेमा १० पुरुष, दुई महिला र १० बालबालिका भएको बीबीसीले जनाएको छ ।

मरीमा हिमपात हेर्न निस्किएका पर्यटकहरू चढेका झन्डै १,००० वटा सवारीसाधन पहाडी भेगमा अलपत्र परेको जनाइएको छ । सेनाले सडक खुलाउने र फसेका मानिसको उद्धार गर्ने प्रयास जारी राखेको छ ।

उक्त क्षेत्रमा अलपत्र परेका एक पर्यटकले समाचारसंस्था एएफपीसँग फोनमा भने, ‘मानिसहरूले भयानक अवस्थाको सामना गरिरहेका छन्,’ त्यहाँ ग्यास र पानीको अभाव भएको छ ।’

स्थानीयवासीहरूले त्यहाँ फसेका पर्यटकलाई ओढ्ने र खाना उपलब्ध गराएका छन् । समुद्र सतहबाट २,३०० मिटरमा रहेको स्थानसम्म पुग्न सकेका मानिसलाई सरकारी भवन र विद्यालयहरूमा आश्रय दिइएको छ ।

प्रधानमन्त्री इमरान खानले पर्यटकहरूको दुःखद मृत्यु प्रति शोक व्यक्त गरेका छन् । उनले पर्यटकहरू मौसमको अवस्था विचार नगरी पुगेकाले जिल्ला प्रशासनले तयारी गर्न नसकेको समेत बताए ।
मरी नगरमा केही दिनयता एक लाख वटाभन्दा बढी गाडी पुगेका थिए । सामाजिक सञ्जालमा हिउँमा रमाएका मानिसका तस्बिर र भिडियो भाइरल भएका थिए । ठूलो हिमपात तथा सवारीसाधनको चाप बढेपछि सरकारी अधिकारीहरूले उक्त नगरलाई प्रकोपग्रस्त क्षेत्र घोषणा गरेका छन् ।

प्रतिक्रिया