काठमाडौं, २४ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
एमालेले प्रतिनिधिसभा बैठकमा गरेको निरन्तर अवरोध हटाउनेलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न आज(शनिबार) बिहान भक्तपुरको बालकोटस्थित ओली निवासमा पुगेका थिए ।
संसद्को अवरोध हटाउनेबारेमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक डाक्दासमेत एमाले उपस्थित नभएपछि प्रधानमन्त्री देउवा छलफलका लागि ओली निवास बालकोट पुगेका हुन् ।
भेटमा मुख्य गरी संसद्को अवरोध हटाउने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । साथै प्रधानमन्त्री देउवा र ओलीबीच भएको आजको भेटमा अमेरिकी सहायता परियोजना एमसीसी अगाडि बढाउने विषयमा पनि छलफल भएको बुझिएको छ ।
यसअघि पनि सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रका संयोजक रामचन्द्र पौडेल बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए । अध्यक्ष ओलीले एकीकृत समाजवादी पार्टीमा रहेका सांसदलाई सभामुखले कारबाही नगरेसम्म र एकीकृत समाजवादी पार्टीका सांसद उपस्थित भएको संसद् र बैठकमा अवरोध गर्ने अडान राख्दै आएको छ ।