अमेरिकामा राजेशपायललाई प्रहरीको सेक्यूरिटी
अखबार टुडे
प्रकाशित:
२०७८, २४ पुष

काठमाडौं, २४ पुस । नेपाली सांगीतिक क्षेत्रका मेगास्टार राजेशपायल राईलाई अमेरिकी सरकारले सेक्यूरिटी दिएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकाको न्यूयोर्क पुगेका राजेशपायललाई न्यूयोर्कको ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटी पुलिस’ले सुरक्षा दिएको हो । जुन अमेरिकाको विशेष सेक्युरिटी फोर्स मानिन्छ ।

‘राई इज किङ’का रुपमा समेत चर्चित राजेशपायल न्यूयोर्कको अर्को सहर रोचेस्टर एयरपोर्ट ओर्लँदा ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटी’ फोर्सका दुई जना पुलिस उनको सुरक्षामा खटिएका थिए । यसरी अमेरिकी सरकारबाटै सेक्यूरिटी पाउने राजेशपायल राई सम्भवतः पहिलो नेपाली कलाकार हुन् । यसअघि नेपाली कलाकारलाई अमेरिकी सरकारले सुरक्षा दिएको रेकर्ड छैन । नेपालको मन्त्री तथा उच्चपदस्तका व्यक्तित्वहरुलाई भने आवश्यकताअनुसार सुरक्षा दिने गरेको छ ।

आफू एक नेपाली कलाकार भएर पनि अमेरिकी सरकारले सुरक्षा दिएकामा राजेशपायलले खुसीमात्र व्यक्त गरेनन्, उनले आफू नेपाली कलाकार भएकोप्रति गर्व सेम गरे ।

उनले छोटो प्रतिक्रिया दिँदै भने, ‘यो मेरो लागि मात्र नभएर सम्पूर्ण नेपाली र नेपाली कलाकारका लागि खुसीको कुरा हो ।’ सुरक्षाको आवश्यकता नभएपनि अमेरिकी सरकारले आफ्नो लागि सुरक्षाकर्मी खटाएर कलाकारको सम्मान गरेको राजेशपायलले बताए । उनले भने, ‘म अमेरिकी नागरिक पनि होइन, तर उहाँहरुले नेपाली भएर पनि माया गरिदिनुभयो । उहाँहरुको माया नभएको भए सायद म यहाँ आउने थिइनँ । धेरै खुसी छु । अमेरिकी सरकारलाई धेरै धेरै धन्यवाद ।’

राजेशपायल राई ८ जनवरीमा हुने लाइभ कन्सर्टमा सहभागी हुन न्यूयोर्कबाट रोचेस्टर पुगेका हुन् । न्यूयोर्कबाट जहाजमा झण्डै दुई घण्टाको दूरीमा रहेको रोचेस्टर सहरमा उनी ‘राजेशपायल राई लाइभ इन कन्सर्ट’मा ८ जनवरीको साँझ प्रस्तुत हुँदैछन् । उक्त कार्यक्रमको संयोजत्व निमा, विजय र आकाश क्षेत्रीले गरेका हुन् ।

प्रतिक्रिया