मन्त्री आलेको निर्देशनपछि नारायणहिटीभित्र बनाउन सुरु गरिएको रेष्टुरेण्ट भत्काउन सुरु
अखबार टुडे
प्रकाशित:
२०७८, २३ पुष

काठमाडौं, २३ पुस । नारायणहिटी दरबारभित्र बनाउन सुरु गरिएको रेष्टुरेण्टको संरचना भत्काउन सुरु गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले छानविन गर्न समिति गठन गरेको भोलिपल्ट अर्थात शुक्रबार नै संग्रहालयभित्रको रेष्टुरेन्टको संरचना भत्काउन सुरु गरिएको हो ।
बतास समूहले उक्त रेष्टुरेण्ट सञ्चालनमा ल्याउन तयारी गर्दैथियो । मन्त्री आलेले सो रेष्टुरेण्टबारे तीन दिनभित्र छानविन गर्न बिहीबार समितिलाई निर्देशन दिएका थिए ।
‘मैले तीन दिनभित्र सङ्ग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भनेर बनाइएका संरचनाहरु हटाउन निर्देशन दिइसकेको छु । यदि आइतबार १२ बजेसम्म पनि ती संरचना हटेनन् भने म आफैं पुगेर हटाउँछु’, मन्त्री आलेले भनेका थिए ।
मन्त्री आलेले संग्रहालय परिसरमा रेष्टुरेण्ट बनाउन दिने निर्णय गलत भएको भन्दै त्यसबारे छानविन गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरिसकेका छन् । बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्री आलेले सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेका हुन् ।
समितिमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल, लेखा नियन्त्रक सूर्यमणि गौतम, उपसचिव पुरुषोत्तम खतिवडा सदस्य र सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी सदस्य छन् । समितिलाई तीन दिनभित्र सवै डकुमेन्टहरुको अध्यययन गरी सुझाव पेश गर्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया