ओलीको सरकारले सरकारी जमिनमा नाफाखोरहरुलाई पोस्ने काम गरेको छ: माधव नेपाल
अखबार टुडे
प्रकाशित:
२०७८, २३ पुष

काठमाडौं, २३ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफू प्रधानमन्त्री हुँदा नारायणहिटीलाई नेपालको सम्पूर्ण इतिहास झल्काउने बृहत् संग्रहालय बनाउने योजना अगाडि सारेको तर केपी ओलीले व्यापारिक कम्पनीबाट अनुचित लाभ लिएर त्यहाँ होटल र रेष्टुरेन्ट बनाउने काम गरेको भन्दै आपत्ति जनाएका छन् ।

पार्टीसम्बद्ध चार जानसंगठनका काठमाडौं महानगर कमिटीको घोषणा तथा शपथग्रहण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘प्रथम सहिद लखन थापादेखि नेपालको राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनका इतिहास एवं पात्रहरू त्यहाँ झल्काउने हाम्रो योजना थियो । तर, केपी ओलीको सरकारले उक्त सरकारी जमिनमा नाफाखोरहरुलाई पोस्ने काम गरेको छ ।’

एकीकृत समाजवादी कस्तो समाज, कस्तो पार्टी र कस्तो समाज बनाउने भन्ने कुरामा केन्द्रित रहेको उनले बताए । जनताको जीवनमा परिवर्तन ल्याउने पार्टीको मूल उद्देश्य रहेको समेत प्रष्ट पारे ।

कार्यक्रममा युवा संघ अध्यक्षमा सन्जिव श्रेष्ठ, अखिल नेपाल महिला संघको अध्यक्ष इन्दिराकुमारी पाण्डे, खेलकुद महासंघ अध्यक्ष मनोज महर्जन र जनसांस्कृतिक महासंघ अध्यक्ष सुरज महर्जन सहितको महानगर कमिटी घोषणा गरिएको छ । कार्यक्रमको अध्यक्षता महानगर कमिटी अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य रामेश्वर श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया