
काठमाडौं, २३ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘कटपुतली सरकार’को संज्ञा दिएका छन् ।
शुक्रबार एमालेको ६१ जिल्ला अधिवेशनको भर्चुअल माध्यमबाट उद्धघाटन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् । एमाले केन्द्रीय कार्यालय काठमाडौंको एक्सन रुमबाट उनले जिल्ला अधिवेशनको उदघाटन गरेका छन् ।
जनमतबाट नभई परमादेशबाट गठन भएको देउवा नेतृवको सरकारले जनताको समस्या सम्बोधन गर्न चासो नदिएको बताउँदै उनले पाँच दलीय गठबन्धनको सरकारलाई कठपुतली सरकार भएको बताए ।
पाँच दलीय गठबन्धनको सरकारले नागरिकको समस्या समाधान गर्न ‘चुँइक’ नबोल्ने बताउँदै उनले यस्ता दलका नेताहरु सरकारमा बस्ने नैतिकता गुमाइसकेको बताए । एमालेले कारबाही गरेका सांसदहरुलाई छुटै दल दर्ताका लागि सरकारले राजनीतिक दल सम्बन्धीको अध्यादेश ल्याएर आफूहरुलाई घेराबन्दी गर्न खोजेको स्पष्ट देखिएको उनले बताए ।
जनताको आशाभरोसा एमालेप्रति रहेको बताउँदै उनले एमालेले जनताको सेवा गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । एमालेमा नेताहरु प्रवेश गर्नेक्रम बढी रहेको बताउँदै ति प्रवेश गर्ने नेताहरुले कुनै राजनीतिक नियुक्त पाउने लोभमा एमाले प्रवेश नगरेको बताए ।