माओवादीको पदाधिकारी चयनका लागि केन्द्रीय समितिको बैठक सारियो
अखबार टुडे
प्रकाशित:
२०७८, २३ पुष

काठमाडौं, २३ पुस । नेकपा (माओवादी केन्द्र)को बाँकी पदाधिकारी चयनका लागि यही पुस २५ गतेका लागि बस्ने भनिएको केन्द्रीय समितिको बैठक आगामी माघ ८ गतेसम्मका लागि सारिएको छ ।
केही नेता बिरामी परेको तथा पार्टी कार्यालयका केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि बैठक स्थगन गरिएको हो ।

पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार पार्टी केन्द्रीय कार्यालयका पाँच कर्मचारीमा कोरोना सङ्क्रमण पाइएको छ । पार्टीका केही नेता तथा कार्यालयका कर्मचारीमा समेत सङ्क्रमण देखिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटघाट बन्द गराउनुभएको छ ।

गत साता आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीले पदाधिकारी चयनका लागि यही पुस २५ गतेका लागि केन्द्रीय समिति बैठक राखेको थियो ।

यही पुस १८ गते सम्पन्न माओवादीको महाधिवेशनले २३७ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । यसअघि यही पुस १९ गते बसेको माओवादीको केन्द्रीय समिति बैठकले पार्टी अध्यक्षमा दाहाललाई निर्विरोध निर्वाचित गरेको थियो ।

माओवादीको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । विधानअनुसार माओवादीले अब एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष निर्वाचित गर्न बाँकी छ ।

प्रतिक्रिया