शान्ति पुनःस्थापित भएको कजाकिस्तानका राष्ट्रपतिको दाबी, आतङ्कवादीेविरुद्ध सुरक्षा अभियान जारी राख्ने
अखबार टुडे
प्रकाशित:
२०७८, २३ पुष

मस्को, २३ पुस (एजेन्सी) । कजाकिस्तानका राष्ट्रपति कासिम–जोमार्ट तोकायेभले एक दिनको ठूलो दङ्गापछि क्रमश; शान्ति पुनःस्थापित भएको बताएका छन् ।

‘कानून प्रवर्तन संयन्त्र र बलहरूले कडा परिश्रम गरिरहेका छन् । संवैधानिक व्यवस्था मुख्यतया सबै क्षेत्रहरूमा पुनर्स्थापित गरिएको छ,’ राष्ट्रपतिको टिप्पणी छ । आतङ्कवादीहरूको पूर्ण विनाश नभएसम्म सुरक्षा अभियान जारी रहने पनि उनले उल्लेख गरेका छन् ।

काजकिस्तानमा इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा नागरिकले सरकार विरोधी प्रदर्शन गर्दै आएका छन् । मुख्य शहर अल्माटीमा भएको प्रदर्शनले हिँसात्मक रुप लिएको छ ।

प्रदर्शनमा १८ जना सुरक्षाकर्मीसहिते दर्जनौं सर्वसाधारणको ज्यान गएको बीबीसीले जनाएको छ । झण्डै २३ सय जना प्रदर्शनकारी सुरक्षाकर्मीको नियन्त्रणमा छन् । आन्दोलनमा विदेशीको घुसपैठ भएको काजकिस्तानको सरकारी पक्षले दाबी गरेको छ ।

रुसले नेतृत्व गरेको सैन्य बल काजकिस्तान पुगेको छ । राष्ट्रपति कासिम जोमार्ट तोकायेभले हिँसात्मक गतिविधि नियन्त्रण गर्न २५ सय रुसी सेनाको सहयोग लिएको बताइएको छ ।

यो सङ्गठनमा रुस, काजकिस्तान, बेलारुस, ताजिकिस्तान र अर्मेनिया सदस्य छन् । रुसले नेतृत्व गरेको कलेक्टिभ सेक्युरिटी ट्रिटी अर्गनाइजेशन (सीएसटीओ) ले ती सुरक्षा अधिकारी शान्ति सेना रहेको र उनीहरूले राज्य तथा सेनाका सम्पत्तिको रक्षा गर्ने जनाएको छ । उनीहरू केही दिन वा केही हप्ता बस्न सक्ने खबरमा उल्लेख छ ।

अमेरिकाको विदेश मन्त्रालयले रुसी नेतृत्वको फौज परिचालनलाई नजिकबाट नियालिरहेको जनाएको छ । संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत, फ्रान्सलगायतका देशले दुवै पक्षलाई हिंसा अन्त्यका लागि आह्वान गरेका छन् । प्रदर्शन चर्किएसँगै काजकिस्तानमा सङ्कटकाल घोषणा गरिएको छ ।

प्रतिक्रिया