काठमाडौं, २२ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुन लागेको भारतको गुजरात राज्यमा आयोजना लागेको ‘भाइब्रेन्ट गुजरात’ समिट तत्काललाई स्थगित गरिएको छ ।
भारतीय पत्रिका ‘द हिन्दु’का अनुसार कोरोना संक्रमण ह्वात्तै बढेपछि १० जनवरीदेखि हुने भनिएको समिट गुजरात सरकारले अर्को मिति तय नभएसम्म तत्कालका लागि स्थगित गरेको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भनिएको उक्त समिटमा सहभागी हुन प्रधानमन्त्री देउवा २५ पुसमा भारत जाने तयारीमा थिए । समिट स्थगित भएपछि प्रधानमन्त्री देउवा भारत जाने/नजानेबारे निर्णय भएको छैन ।
भारतमा बिहीबार एकैदिन ९० हजार मानिसमा कोरोनाको संक्रमण भएको थियो । भारतमा पछिल्लो समय कोरोनाभाइरसको तेस्रो लहर चलिरहेको रहेको भारतीय मिडियाले जनाएका छन् । कोरोनाको तेस्रो लहर बढेकाले गुजरात सरकारले भाइब्रेन्ट गुजरात समिट सार्ने निर्णय गरेको बताइएको छ ।