काठमाडौं, २१ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको सभ्यता, इतिहास र संस्कृति जोगाउन आवश्यक रहेको बताएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले बुधबार ‘संस्कृति बचाऊ’ अभियन्तासँग आफ्नै निवास बालकोटमा कुरा गर्दै सभ्यताको सृष्टि भूमि भएकाले यसलाई जोगाएर अघि बढ्दामात्रै इतिहासमाथि न्याय हुने बताए । उनले देशका पूर्वजहरूसँग अरू कसैको तुलना हुन नसक्ने पनि बताए ।
अध्यक्ष ओलीले सभ्यता र संस्कृतिको विकासमा लाग्नेहरूलाई आफ्नो सदा साथ रहने प्रतिबद्धतासमेत व्यक्त गरे । अध्यक्ष ओलीले गुरुत्वाकर्षणको सिद्धान्त न्युटनले भन्दा हजारौँ वर्ष अगाडि हाम्रा पूर्वज भास्कर आचार्यले पत्ता लगाए पनि त्यसको चर्चा गर्न नसकिएको दाबी गरे । उनले अष्टवक्रजस्ता दार्शनिकहरूको पनि चर्चा हुन नसकेको बताए ।
अध्यक्ष ओलीले एउटा कथा सुनाए, ‘हाम्रा पूर्वजहरूसँग कसैको तुलना हुँदैन । सभ्यताको सृष्टि यहाँ भएको थियो । पछि अन्त त छरियो । एक ठाउँमा आगो बालेपछि ज्योति त परपर गइहाल्छ । यहाँ आगो बालियो, अन्त ज्योति फैलियो । पछि आगोका झिल्को लिएर गएकाहरू प्रमिथस भएर निस्के । लक्ष्मीप्रसाद देवकोटाको एउटा प्रमिथस भन्ने महाकाव्य छ नि । अरू एउटा झिल्कोबाट प्रमिथस भएर निस्के । हाम्रो ठाउँकाहरूलाई दाउरा थप्ने पनि कोही भएन । घिउ थप्ने पनि कोही भएन । केही नगरेपछि निभेर गयो । त्यस कारण हाम्रो ज्ञान चाहिँ पछाडि प¥यो । उनीहरूको ज्ञान अगाडि बढ्यो ।’
ओलीले कथा सुनाउँदै गए, ‘अनि इतिहास के भयो भने ग्यालिलियोले यसो गरे । न्युटनले गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाए । भास्कर आचार्यको कुरै छैन । पहिलो दार्शनिक को थिए ? भन्दा शुकरात । शुकरातभन्दा हजारौँ वर्ष अगाडि अष्टवक्रजस्ता दार्शनिकको कुरै छैन ।
त्यस कारण यो ज्ञानभूमि हो, हाम्रा पूर्वजहरूले एकदम ठिक भनेका छन्– यो ज्ञानभूमि हो, पुण्यभूमि हो, देवभूमि हो, ध्यानभूमि हो, तपोभूमि हो । त्यो ज्ञान, त्यो तपको सृजना, ती अभ्यासहरूको सृजना, तिनको समष्टिलाई हामी हाम्रो सभ्यता, हाम्रो इतिहास, संस्कृति भन्छौँ । त्यसलाई जोगाउनुपर्छ ।’