काठमाडौं, २१ पुस । पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपालमा गरिने लगानी प्रकृतिमैत्री हुनुपर्नेमा जोड दिएका छन् ।
बुधबार राजधानीमा हङकङमा मुख्य कार्यलय रहेको ‘आइडिया ग्रुप’ गैरआवसीय नेपाली तथा विदेशी साझेदार संलग्न बहुराष्ट्रिय कम्पनीको नेपाली परियोजना कार्यक्रमको उद्घाटन गर्दै उनले नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा जडीबुटी प्रशोधनका क्षेत्र लगानीका लागि उर्वर रहेको बताए ।
कार्यक्रममा बोल्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिसमेत रहेका यादवले भने, ‘भारतीयले विदेशमा आर्जन गरेको ज्ञानबाट बैङ्लोरमा ठूलो परिवर्तन ल्याएर देखाए, यस्तै परिवर्तन गैरआवासीय नेपालीले पनि नेपालमा कुनै क्षेत्रमा लगानी गरेर देखाउन सक्छन्, कामको खोजीमा खाडी जाने नेपाली युवालाई यहीँ रोजगारी दिन सक्छन्, देशलाई अघि बढाउने रचनात्मक सोच अघि सार्न पनि गैरआवासीय नेपालीको यसतर्फ ध्यान जानुपर्छ ।’
प्रधानन्यायधीशले अदालत र एउटा दलले संसद् बन्धक बनाउने प्रवृत्ति जारी रहेसम्म यस्ता सोचमा ध्यान जान नसक्ने भएकाले समस्या समाधानका लागि उनले सबै पक्षलाई आग्रह गरे । सकारात्मक सोचका लागि विश्वविद्यालयको जनशक्तिसँग पनि सञ्जाल निर्माण गरेर सहकार्य गरिनुपर्नेमा यादवले जोड दिए ।
सोही अवसरमा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले नेपालको विकास भयो भने विश्वमा नेपालीको शिर उचो हुने सोच अनुसार ‘आइडिया फर नेपाल’ ले काम गर्ने विश्वास व्यक्त गरे । ‘आइडिया फर नेपाल’ सँगको सहकार्यमार्फत् छिट्टै नै विराटनगरमा आधुनिक पार्किङ निर्माण हुन लागेको उनले जानकारी दिए ।
कार्यक्रममा परियोजनाबारे जानकारी दिँदै आइडिया नेपालका अध्यक्ष गोकर्ण श्रेष्ठले अत्याधुुनिक कार पार्किङ प्रणाली भित्र्याएपछि दुई कार पार्किङ गर्ने स्थानमा दर्जनौँ कार पार्किङ गर्न सकिने बताएका थिए । उनले विभिन्न देशमा काम गरेको अनुभवका आधारमा नेपालमा पनि काम गर्न लागेको जानकारी दिनुभयो । आइडियाको विभिन्न परियोजनामार्फत आगामी १० वर्षभित्र १० लाख जनालाई उद्यमी बनाउने सोच रहेको बताए ।
कम्पनीले हाल विश्वका विभिन्न देशमा ४०० भन्दा बढी परियोजनामा संलग्नता जनाएको छ । त्यसमध्ये ५० वटालाई आफैँले नेतृत्व गरिरहेको छ । तीन सय ५० वटा परियोजनामा भने अरु कम्पनीको पनि लगानी छ । कम्पनीले अफ्रिकाको सुनखानी, युरोपमा पार्किङ, घरजग्गा व्यसाय (रियल स्टेट), कृषि तथा अन्य विविध क्षेत्रमा लगानी गरिरहेको छ । करिब पाँच वर्षअघिदेखि नेपालमा पनि यसले कृषि, घरजग्गा, पर्यटनलगायतको क्षेत्रमा लगानी गरिरहेको छ ।