सोल, २१ पुस । उत्तर कोरियाले बुधबार समुद्रमा अज्ञात उपकरण प्रक्षेपण गरेको दक्षिण कोरिया र जापानले जनाएको छ । प्योङयाङले यस वर्ष यो पहिलो पटक प्रक्षेपण गरेको हो ।
प्रक्षेपणबारे पहिलो पटक विवरण दिने जापानी तटरक्षकका अनुसार त्यो ‘बलिस्टिक क्षेप्यास्त्र’ हुनसक्ने सम्भावना भएको तर अहिलेसम्म पुष्टि नभएको बताइएको छ ।
समाचारसंस्था रोएटर्सले उल्लेख गरेअनुसार जापानका रक्षामन्त्री नोबुओ किशीले सम्भावित बलिस्टिक क्षेप्यास्त्र करिब ५०० किलोमिटर (३१० माइल) उडेको बताएका छन् । दक्षिण कोरियाली सेनाका अनुसार उत्तरले कोरियाले प्रायद्वीपको पूर्वी समुद्रतर्फ स्थानीय समयाअनुसार मङ्गलबार बिहान ८ः१० बजे ‘सम्भावित ब्यालेस्टिक मिसाइल’ प्रहार गरेको छ ।
एक आपतकालीन बैठकपछि दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषदले यस मिसाइल परिक्षणको चिन्ता व्यक्त गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसलाई सम्भावित ब्यालेस्टिक मिसाइल प्रक्षेपण को रूपमा वर्णन गरे पनि उत्तर कोरियाले गरेको लगातार क्षेप्यास्त्र प्रक्षेपण साँच्चै खेदजनक भएको जापानी प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन् ।
जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले पत्रकारहरूलाई अहिलेसम्म जापानी विमान र जहाजहरूमा क्षति पुगेको कुनै समाचार नआएको बताए ।
उत्तर कोरियाका सर्वोच्च नेता किम जङ–अनले कोरियाली प्रायःद्वीपमा बढ्दो अस्थिर सैन्य वातावरणबीच प्योङ्याङको प्रतिरक्षा क्षमतालाई सुदृढ गर्ने क्रम जारी राख्ने गत हप्ता बताएका थिए ।
बलिस्टिक क्षेप्यास्त्रहरू क्रूज क्षेप्यास्त्रभन्दा बढी जोखिमपूर्ण मानिन्छन् । तिनले अत्यधिक शक्तिशाली विस्फोटक भार उठाउन सक्छन्। त्यस्तै ती क्षेप्यास्त्रहरू लामो दूरीसम्म छिटो उड्न सक्छन् ।