काठमाडौं, २१ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) महासचिव तेन्जिन लेक्फिलबीच शिष्टाचार भेटवार्ता भएको छ ।
बुधबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा बिम्स्टेकमा हालसम्म भएका प्रगतिलाई कसरी अघि बढाउने तथा बिम्स्टेक प्रक्रियालाई थप सुदृढ बनाउने विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालको चारदिने परिचयात्मक भ्रमणमा रहेका महासचिव लेकफेललाई प्रधानमन्त्रीले विम्स्टेकजस्ता क्षेत्रीय सङ्गठनमा नेपालको रचनात्मक संलग्नता रहिरहने तथा बिम्स्टेक प्रक्रियाप्रति नेपालको पूर्ण प्रतिबद्धता रहेको बताए ।
बिम्स्टेकलाई थप प्रगति गर्न सघाउन नेपालले रचनात्मक योगदान गर्ने दृढता पनि उनले व्यक्त गरे । बिम्स्टेकले हालसम्मका प्रगतिलाई सुदृढ तुल्याउन तथा क्षेत्रीय सहयोगको आकाङ्क्षालाई साकार पार्न महत्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास प्रधानमन्त्रीले व्यक्त गरे ।
बिम्स्टेक प्रक्रियालाई अगाडि बढाउन नेपालले पु¥याएको योगदानको प्रशंसा गर्दै महासचिवले काठमाडौंमा सम्पन्न चौथो बिम्स्टेक शिखर सम्मेलन सहयोगका क्षेत्रलाई सुव्यवस्थित र संस्थागत सुदृढीकरणका लागि महत्वपूर्ण कोसेढुङ्गा भएको बताए । बिम्स्टेकप्रतिको नेपालको प्रतिबद्धताको उनले सराहना पनि गरे ।
कोभिड–१९ महामारीका कारण दुई वर्षअघि हुनुपने बिम्स्टेकको पाँचौ शिखर सम्मेलन आगामी चैतमा श्रीलङ्काले आयोजनाको प्रस्ताव गरेको छ । यद्यपि सदस्य देशबाट त्यो अनुमोदन हुन बाँकी छ ।
प्रारम्भमा बङ्गलादेश, भारत, श्रीलङ्का र थाइल्याण्डमात्र सदस्य रहेको चारदेशीय उक्त संस्थामा भुटान, म्यान्मा र नेपाल थपिएपछि बिम्स्टेक बनेको हो । २०५४ साल जेठ २४ गते स्थापना भएको उक्त क्षेत्रीय सङ्गठनको सदस्यता नेपालले २०६० साल माघमा लिएको हो ।
संयुक्त बैठकलाई प्रधानमन्त्रीले निर्देशन दिने
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सरकारका मन्त्री तथा सचिवहरूको संयुक्त बैठकलाई निर्देशन दिने भएका छन् ।
समृद्धि, विकास र सुशासनका लागि वर्तमान संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिबद्धताका कार्यान्वयन, विकासका प्राथमिकता र सुशासन प्रवद्र्धनका लागि प्रभावकारी कार्यसम्पादन गर्न उनले आज अपराह्न सिंहदरबारमा हुने मन्त्री तथा सचिवहरूको संयुक्त बैठकलाई निर्देशन दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।