कांग्रेस जिल्ला सभापतिलाई धम्क्याएको आरोप लागेका एसपी पाण्डे निलम्बित
अखबार टुडे
प्रकाशित:
२०७८, २१ पुष

काठमाडौं, २१ पुस । नेपाली कांग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई धम्क्याएको आरोप लागेका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् ।
पाण्डेलाई प्रहरी प्रधान कार्यालयले मंगलबार साँझ निलम्बन गरेको हो । एसएसपी बसन्त बहादुर कुँवरका अनुसार पाण्डेमाथि अनुसन्धान जारी रहेकाले तीन महिनाका लागि निलम्बन गरिएको जानकारी दिए ।

कुँवरले व्यावसायिक आचरणविपरीत गतिविधि गरेको आरोपमा अनुसन्धानका लागि पाण्डेलाई तीन महिना निलम्बन गरिएको र समिति बनाएर छानबिन गर्ने बताए । पाण्डेलाई प्रहरी मुख्यालय तानेर अर्का एसपी अर्जुन तिमल्सिनालाई सिरहा प्रहरी प्रमुखका रूपमा खटाइएको छ ।

कांग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादवले सरुवाको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख एसपी हिराबहादुर पाण्डेले आफूलाई गोली हान्ने धम्की दिएको दाबी गरेका थिए ।

यादवले विज्ञप्ति जारी गर्दै मादक पदार्थ सेवन गरी आइतबार राति तत्कालीन एसपी पाण्डे धनगढीमाई नगरपालिका–९ जिरोमाइलस्थित घरमै आएर अपशब्द, गालीगलौज गरी गोली हान्ने धम्की दिएको बताएका थिए । ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहामा एसपी पाण्डेविरुद्ध जाहेरी दिएका थिए ।

प्रतिक्रिया