कोभिडविरुद्ध खोप नलगाउनेलाई झण्झट दिने र सार्वजनिक क्रियाकलापमा प्रतिबन्ध लगाउने चेतावनी
अखबार टुडे
प्रकाशित:
२०७८, २१ पुष

काठमाडौं, २१ पुस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले कोभिड–१९ विरुद्ध खोप नलगाएका नागरिकको जीवन कष्टकर बनाउने आफूले योजना बनाएको चेतावनी दिएका छन् ।
‘म उनीहरूलाई साँच्चै झन्झट दिन चाहन्छु, र हामी यो गर्न जारी राख्नेछौं’, उनले एक अखबारलाई भने ।

फ्रान्समा कोरोनाविरुद्धको खोप लगाउनेहरुको संख्या घट्दै गएपछि राष्ट्रपति इमानुएल म्याक्रोले खोप नलगाउनेहरुलाई सरकारले झण्झट दिने र सार्वजनिक जीवनको धेरैजसो क्रियाकलापमा प्रतिबन्ध लगाउने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

खोप नलगाउनेहरुलाई कडा कारबाहीको प्रावधान समेटिएको एउटा विधेयक संसदबाट पारित नभएपछि आक्रोसित बनेका राष्ट्रपति म्याक्रोले अब सरकारले बल गरेर खोप नलगाउने तर खोपबाट भाग्नेहरुले धेरै सुविधाबाट बञ्चित हुनुपर्ने चेतावनी दिएको बताइएको छ ।

खोप नलगाउनेहरुलाई रेष्टुरेन्ट, सिनेमा हल, सरकारी कार्यालय लगायतका ठाउँमा प्रवेश निषेध गर्ने भन्दै राष्ट्रपति म्याक्रोले खोप लिन नमान्नेलाई आफूले घृणा गर्ने बताए । तर विपक्षीहरूले भने म्याक्रोले प्रयोग गरेको भाषा राष्ट्रपतिका लागि योग्य नभएको बताएका छन् ।

९० प्रतिशत वयष्क व्यक्तिले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको फ्रान्स युरोपमै सबैभन्दा धेरै कोरोनाविरुद्धको खोप लगाउने देश हो । तर युवाहरुले खोप लगाउन आनाकानी गर्दा संक्रमण बढिरहेको छ ।

फ्रान्सका स्वास्थ्य अधिकारीहरुले यहाँ ठूलो संख्यामा दैनिक कोभिड सङ्क्रमित भेटिएका बताएका छन् । पछिल्लो २४ घन्टामा फ्रान्समा २ लाख ७१ हजार ६८६ जनामा सङ्क्रमण देखिएको अधिकारीहरुले जनाएका छन् । यो संख्या फ्रान्समा कोभिडको महामारी सुरु भएयताकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ ।

साथै मंगलबार दिएको जानकारीअनुसार हाल त्यहाँका २० हजार भन्दा बढी व्यक्ति अस्पताल भर्ना भएका छन् । तीमध्ये तीन हजार ६०० भन्दा बढी आइसियूमा भर्ना भएका बताइएको छ ।

आगामी दिनमा फ्रान्सका अस्पताल कोभिडका विरामीले भरिन सक्ने यहाँका चिकित्सकहरुले जनाएका छन् । फ्रान्सको सरकारले यहाँका कर्मचारीहरुलाई घरबाटै गर्न मिल्ने कामहरु घरबाट गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया