पत्रपत्रिकाको वर्गीकरण नतिजा छिट्टै सार्वजनिक हुन्छ: अध्यक्ष बस्नेत
अखबार टुडे
प्रकाशित:
२०७८, २० पुष

काठमाडौं, २० पुस । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले विगत तीन आर्थिक वर्षदेखि रोकिएको पत्रपत्रिकाको वर्गीकरण नतिजा छिट्टै सार्वजनिक गर्ने बताएका छन् ।

मंगलबार काउन्सिलद्वारा आयोजित पत्रकार आचारसहिंता जागरण कार्यक्रममा सो जानकारी दिएका हन् । ‘भरसक यही पुस महिनाभित्रैमा नभए पनि आउँदो १५÷२० दिनमा वर्गीकरण नतिजा सार्वजनिक हुन्छ,’ उनले भने, ‘विविध कारणले रोकिएको वर्गीकरण प्रक्रियालाई काउन्सिलको अहिलेको नेतृत्वले टुङ्गो लगाउँदैछ ।’

उनले आफूहरु काउन्सिलमा आएको सात महिना मात्रै भएको र पत्रपत्रिकाको वर्गीकरण प्रक्रिया पहिलेदेखि नै अवरुद्ध रहेको स्मरण गराए । अध्यक्ष बस्नेतले वर्गीकरण काउन्सिलले मात्रै गर्ने नभएर त्यसमा राज्यका अन्य निकाय पनि सम्बद्ध रहेको स्पष्ट पारे ।

बेलैमा वर्गीकरण नजिता नआउँदा पछिल्लो अवधिमा सञ्चालनमा आएका पत्रपत्रिकाले राज्यले दिने लोककल्याणकारी विज्ञानबाट वञ्चित हुनुपरेको छ । त्यसको सोझो मार जिल्लास्तरमा सञ्चालित स्वरोजगारमूलक पत्रपत्रिकामा परेको छ । सोही क्रममा अध्यक्ष बस्नेतले आचारसहिंता पत्रकारको मूलमन्त्र भएको उल्लेख गरे । ‘आचारसहिंतामा टेकेर हामीले पत्रकारिता गर्नुपर्छ, पत्रकारले यसलाई सधैँ मनमा लिएर हिँड्नुपर्छ, पढिरहनुपर्छ,’ उनले भने ।

पत्रकारितामा नवप्रवेशीहरुले त झन् आचारसहिंताबारे बढी ध्यान दिनुपर्ने उनको सुझाव छ ।
नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको संयोजनमा भएको कार्यक्रममा ३० भन्दाबढी पत्रकार÷सञ्चारकर्मीले भाग लिएको महासङ्घका जिल्ला उपाध्यक्ष नवीन शिशिर विकले जानकारी दिए ।

प्रतिक्रिया