विगतमा जे-जस्तो भयो सबै कुरा बिर्सेर देशका लागि खेल्ने हो: मल्ल
अखबार टुडे
प्रकाशित:
२०७८, २० पुष

काठमाडौं, २० पुस । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले विगतमा जे–जस्तो भए पनि अब विश्व कपमा छनोट हुने लक्ष्य लिएर देशका लागि खेल्ने बताएका छन् ।

मंगलबार बन्द प्रशिक्षणका लागि त्रिवि मैदान कीर्तिपुर पुगेका मल्लले भने ‘अब व्यक्तिगत रिसइबी त्यागेर देशका लागि खेल्ने हो, बोर्ड र खेलाडी एक ठाउँमा बस्नुपर्छ र हामीले नै क्रिकेट अघि बढाउनुपर्छ भन्ने लाग्यो । जे भयो भयो, अबको दिनमा राम्रोसँग अघि बढ्ने हा,।’

अहिले पनि क्यान र पदाधिकारीसँग सम्बन्धमा दरार आएको वा झगडा नै परेजस्तो गरी बाहिर आए पनि निकै राम्रो सम्बन्ध रहेको मल्लको भनाइ थियो । आफूहरूले कुनै व्यक्ति र संस्थाको विरोध नगरि आफ्ना गुनासा राख्दा विषय लम्बिएको र विवाद जस्तो देखिन पुगेको उनले बताए

कप्तानको विषयमा बोल्दै मल्लले भने, ‘कप्तानबाट हटाएको विषयमा अलिकति दुःख लाग्यो, विना कारण विषय निकालेर कप्तानबाट हटाउँदा मलाई गाह्रो भएको थियो । केही नभएका आरोप पनि लगाउँदा दुःख लाग्यो । म सधैँ कप्तान हुनुपर्छ भन्ने छैन, पहिले म कप्तान नहुँदा पनि खेलेकै थिएँ, अब पनि खेल्छु, देशका लागि खेल्छु, ।’

क्यानले सन् २०२२ को पहिलो ६ महिनाका लागि गरेको खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाएका तत्कालिन तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी खेलाडीहरु सोमपाल कामी र कमल सिंह ऐरीलाई क्यानले सेन्ट्र्ल कन्ट्र्याक्टबाट हटाएको थियो ।
त्यस्तै मल्ल र ऐरीको कप्तान र उपकप्तान पद पनि खोसेर सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी दिएको थियो ।

यही विषयलाई लिएर खेलाडीहरुले आफूहरु ब्याट र बल छाड्नुपर्ने स्थिति आउने बताएका थिए । तर क्यानसँगको सहमतिपछि उनीहरु प्रशिक्षणमा फर्किएका छन् ।

प्रतिक्रिया