दक्षिण कोरियाबाट भागेर उत्तर कोरिया गएका एक व्यक्ति ‘जिमनास्ट’ भएको सेनाको आशङ्का
अखबार टुडे
प्रकाशित:
२०७८, २० पुष

काठमाडौं, २० पुस । कडा सुरक्षाको व्यवस्थाबीच उत्तर कोरियातर्फ सीमा पार गर्ने व्यक्ति पहिले त्यस्तै गरी दक्षिणतर्फ प्रवेश गरेको दक्षिण कोरियाली सेनाले शङ्का व्यक्त गरेगरेका छन् ।

अधिकारीहरूले ती व्यक्ति एक जिमनास्ट भएको आशङ्का गरेका हुन् । जसले सन् २०२० मा दक्षिण कोरियातर्फ काँडेतारको बारबाट हाम फालेर प्रवेश गरेका थिए ।

गत शनिबारका दिन कडा सुरक्षाको घेराबीच एक दक्षिण कोरियाली नागरिक उत्तर कोरियासँगको सीमा पार गरेको दक्षिण कोरियाली सेनाले जनाएको थियो ।
देश छोडेर भाग्न खोजेको ठानिएका ती व्यक्ति नयाँ वर्षको दिनमा पूर्वी तटीय बिन्दुको दुई कोरियाबीच सीमा छुट्टाउने असैनिकीकृत क्षेत्रमा स्थानीय समयानुसार राति ९ बजेर २० मिनेटमा कोही घुमिरहेको देखा परेपछि दक्षिण कोरियाली सेनाहरू अनुसन्धानका लागि तैनाथ भएका थिए ।

सेनाले ती मानिसलाई फेला पारेनन् । तर केही घण्टापछि ती व्यक्ति उत्तर कोरियामा प्रवेश गरेको पत्ता लगाए ।

उनी किन जोखिमपूर्ण ढङ्गमा फर्किए र उनी जीवित या छैनन् भन्ने विषय स्पष्ट छैन । उत्तर कोरियाले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि सीमा क्षेत्रमा विनाअनुमति यात्रा गर्न लागेको जोकसैलाई देख्नासाथ गोली प्रहार गर्ने नीति लागु गरेको छ ।

निगरानी क्यामरामा देखिएका दृश्यलाई उद्धृत गर्दै एक उच्चस्तरीय सैन्य अधिकारीले ती मानिस सन् २०२० को नोभेम्बरमा भागेरै उत्तरबाट दक्षिण कोरिया प्रवेश गर्ने मानिस भएको बीबीसीलाई पुष्टि गरे ।

‘फुटेजहरू हेर्दा ती मानिसको रूप र पोसाक सन् २०२० मा उत्तरबाट भागेर आएका व्यक्तिसँग मिल्दो देखिन्छ,’ रक्षा मन्त्रालयका एक अधिकारीले पत्रकारहरूलाई भने । तर ती व्यक्ति उत्तर फर्किनुको सम्भावित उद्देश्यका बारेमा कुनै जानकारी दिइएको छैन । अहिले उनले सीमा पार गरेको घटना कसरी पत्ता लागेन भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।
योन्हाप समाचार एजेन्सीका अनुसार उमेरले ३० वर्ष नाघेका ती मानिस दक्षिण कोरियामा सरसफाइको काम गर्थे । उनले पक्राउ पर्दा आफू उत्तर कोरियाली जिमनास्ट भएको बताएका थिए । उनको बारेमा थप विवरणहरू सार्वजनिक भएका छैनन् ।

उत्तर र दक्षिण कोरियाबीचको सिमाना बारुद भएका सुरुङले भरिएको छ साथै विद्युतीय र काँडेतारले घेरिएको छ । त्यहाँ निगरानी क्यामरा र सशस्त्र सुरक्षाकर्मीहरू चौबीसै घण्टा सतर्क अवस्थामा हुन्छन् । यी दुई देशहरूलाई छुट्टाउने असैनिकीकृत दशगजा क्षेत्रमार्फत मानिस पार गर्नु दुर्लभ घटना भएको बताइएको छ ।
विगतमा पनि सीमा पार सम्बन्धी यस्तै घटना भएपछि सउलका रक्षा अधिकारीहरूले सीमा रक्षा प्रणालीमा व्यापक सुधार गर्ने वाचा गरेका थिए ।

प्रतिक्रिया