काठमाडौं, २० पुस । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभा सदस्य उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान पाँच उम्मेदवारको टुङ्गो लगाएको हो ।
पार्टीले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर (अन्य समूह) र भरत सुनार (दलित), कर्णालीमा नरबहादुर विष्ट (अपाङ्ग/अल्पसङ्ख्यक) र सुदूरपश्चिममा जगत पार्की (दलित)लाई उम्मेदवार बनाएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
सोमबार बसेको माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । सत्तारूढ गठबन्धनले रिक्त १९ सिटमा भागबन्डा गरेर उम्मेदवार उठाउने सहमति गरेका थिए ।
सोही अनुसार आगामी माघ १२ गते हुने १९ पदको निर्वाचनका लागि आज उम्मेदवारी दिनुपर्ने निर्वाचन आयोगको कार्यतालिका छ । उम्मेदवारहरूले आज १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारी दर्ता गरिसक्नुपर्ने हुन्छ ।