भारतीय प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाउने महिलामाथि गोली प्रहार
अखबार टुडे
प्रकाशित:
२०७८, २० पुष

नयाँदिल्ली, २० पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने एक महिलामाथि गोली प्रहार भएको बीबीसी हिन्दीले जनाएको छ ।
भारतको उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री मोदीलाई कालो भण्डा देखाएकी रीता यादवमाथि गोली प्रहार भएको हो । उनीमाथि गोली प्रहार गर्नेहरुको खोजी भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

खुट्टामा गोली लागेर घाइते भएकी यादवको सुल्तानपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते रीता यादवले आफू पोस्टर ब्यानर बनाउन सुल्तानपुर गएको र घर फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको बताएकी छन् ।

उनले भनेकी छिन्, ‘म बोलेरो चढेर फर्किंदै थिएँ । तीन जना व्यक्ति ओभरटेक गरेर म चढेको गाडी रोके र गाली गर्दै हत्या गर्ने धम्की दिए,’ । ‘उनीहरुले मेरो गाडी चालकको कन्चटमा पेस्तोल राखेका थिए । मैले एक जनालाई गालामा हिर्काएँ, त्यसपछि उनीहरुले ममाथि गोली चलाएर भागे ।’ गोली हान्नेहरूलाई नचिनेको उनले बताएकी छन् ।

नोभेम्बर १६ तारिखमा उनले प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी थिइन् । कालो झण्डा देखाएको भन्दै यादवलाई पक्राउ गरेको थियो । पक्राउ गरेको दुई दिनपछि उनलाई रिहा गरिएको थियो ।

यो घटनाको एक महिना पछि गएको डिसेम्बर १७ तारिखमा उनी कांग्रेस पार्टीमा प्रवेश गरेकी थिइन् । तर, गोली प्रहार भएको यो घटना प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको घटनासँग सम्बन्धित रहे नरहेको खुल्न बाँकी छ ।

प्रतिक्रिया