माओवादी अध्यक्षमा प्रचण्ड निर्विरोध : स्थायी समिति बैठक ६ दिन स्थगित
अखबार टुडे
प्रकाशित:
२०७८, १९ पुष

काठमाडौं । नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध चयन गरेको छ ।

सोमबार बसेको बैठकले पदाधिकारी निर्वाचनबारे छलफल गर्दै अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।
बैठकमा अहिलेको सन्दर्भमा प्रचण्डकै नेतृत्व आवश्यक रहेको भन्दै नेता नारायणकाजी श्रेष्ठले उनको नाम प्रस्ताव गरेका थिए । पार्टीलाई समाजवादी क्रान्तिमा अघि बढाउन प्रचण्डकै नेतृत्व अपरिहार्य रहेको उनको भनाइ थियो ।

प्रचण्डकै नेतृत्वमा जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया हुँदै संविधानसभा निर्वाचन र संघीयता तथा गणतन्त्रसहितको संविधान निर्माण भएको भन्दै उनले प्रचण्डकै नेतृत्वमा अब बाँकी कार्यभार पूरा गर्ने संकल्प गर्नुपर्नेमा जोड दिए ।

यसैबीच केन्द्रीय समिति बैठक ६ दिनका लागि स्थगित गरिएको छ । २५ पुसमा बस्नेगरी बैठक स्थगित गरिएको हो ।
ललितपुरको सानेपास्थित होटल हेरिटेजमा सोमबार बसेको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत अध्यक्ष चुनेपछि बैठक सकिएको छ । आजकै बैठकले पार्टी पदाधिकारी पनि चयन गर्ने अपेक्षा गरिएको थियो ।

पदाधिकारी चयन गर्नका लागि माओवादीले पार्टी नेता वर्षमान पुनलाई कुरेको देखिन्छ । महासचिवमा दाबी गरेका पुन अहिले उपचारका लागि चीनमा छन् ।

पुन र पूर्वसभामुख ओनसरी घर्ती केही दिनमै नेपाल आउँदैछन् । आजको बैठकमा अध्यक्ष प्रचण्डले पुन मंगलबार अस्पतालबाट डिस्चार्ज हुने र केही दिनभित्र नेपाल आउने जानकारी दिएका थिए ।

केन्द्रीय सदस्य महेश्वर दाहालका अनुसार उनी आएपछि फेरि छलफल हुनेछ । पुस ११ देखि काठमाडौं सुरु भएको माओवादी केन्द्रको आठौं महाधिवेशन आइतबार सकिएको हो । महाधिवेशनमा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए । प्रचण्डले सुनाएको नामलाई सबैले सदर गरेका थिए ।

प्रतिक्रिया