विद्युत् प्राधिकरणको सामान नेपाल एयरलाइन्सबाट ल्याइने
अखबार टुडे
प्रकाशित:
२०७८, १९ पुष

काठमाडौं, १९ पुस । नेपाल विद्युत् प्राधिकरण र नेपाल वायुसेवा निगमबीच एक आपसमा समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ ।

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले उपस्थितिमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबीच नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विदेश भ्रमण जाँदा र कार्गो (सामान ढुवानी) गर्दा निगमकै जहाज प्रयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार प्राधिकरणका कर्मचारी र कर्मचारीका परिवारले निगमको जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्दा टिकटमा १५ प्रतिशत छुट पाउने छन् । निगमको बिक्री कार्यालयबाट टिकट खरिद गर्नेले मात्र छुट सुविधा पाउने छन् ।

प्राधिकरणले निगमको उडान गन्तव्य रहेका ठाउँबाट कार्गो ढुवानी गर्दा परिमाणका आधारमा ५÷१० प्रतिशत छुट पाउने भएको छ । प्राधिकरणले सामान ढुवानी र आफ्ना कर्मचारीले विदेश भ्रमण गर्दा निगमकै जहाज प्रयोग गर्ने उल्लेख गरिएको छ ।

कार्यक्रममा मन्त्री आलेले डुब्न लागेको प्राधिकरणलाई उकास्न त्यहाँको व्यवस्थापनले चालेको कदमबाट पाठ सिकेर काम गर्न निगम व्यवस्थापनलाई आग्रह गरे । उनले अन्तर्राष्ट्रिय उडानका लागि जहाज थप्ने विषयमा निगम व्यवस्थापनले व्यापारिक योजना तयार गरी सञ्चालक समितिमा पेस गरिसकेकाले यस बारेमा छिट्टै निर्णय गरिने बताए ।

यस्तै, निगमका कार्यकारी अध्यक्ष अधिकारीले आफूहरुको सो प्रस्ताव सहर्ष स्विकार गरेको भन्दै नेपाल विद्युत प्राधिकरणको नेतृत्वलाई धन्यवाद दिए । कार्यकारी निर्देशक घिसिङले सम्झौतामा गरिएका व्यवस्था कार्यान्वयका लागि तत्काल परिपत्र गरिने बताए ।

प्रतिक्रिया