काठमाडौं, १९ पुस । सत्तारुढ गठबन्धनले राष्ट्रियसभा निर्वाचनका लागि भागबण्डा टुंगिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिटहरुको भागबण्डा मिलाएको हो ।
जसअनुसार कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५/५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने भएका छन् ।
खाली हुने १९ सिटमध्ये आठ वटामा एमाले र बाँकीमा सत्ता गठबन्धनकै सदस्यहरुको कार्यकाल सकिँदैछ । यसअघि जुन–जुनबाट सदस्यहरु थिए, त्यो सिटमा सम्बन्धित दलबाटै उम्मेदवार बनाउने सहमति भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिएकी छन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादीले चार–चार तथा कांग्रेसले तीन सिट पाए । एमालेले जितेको आठ सिटमा कांग्रेसले ३, जसपाले २, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले १–१ सिट पाउने गरी भागबण्डा भएको छ ।
आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् । रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते ७ वटै प्रदेशमा चुनाव हुँदैछ ।
उक्त निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न निर्वाचन आयोगले यही पुस २० गतेको समय निर्धारण गरेको छ । सत्ता गठबन्धन आबद्ध दलहरू काँग्रेस, माओवादी, एकीकृत समाजवादी जसपा गठबन्धन बनाएर चुनावमा जाने तयारीमा छन् ।
बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी थिए ।