कश्मीरको एक धार्मिक स्थलमा भागदौड मच्चिँदा कम्तीमा १२ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, १७ पुष

श्रीनगर, १७ पुस (एजेन्सी) । दशौँ हजार तीर्थयात्रीले पूजाअर्चना गर्न भेला भएका बेला शनिबार बिहानै भारतीय धार्मिक स्थलमा भागदौड हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

भारत प्रशासित कश्मीरको वैष्णोदेवी मन्दिर जाने बाटोमा शनिबार भागदौड मच्चिएपछि बिहान करिब २ः१५ बजे १२ जनाको मृत्यु भएको हो भने करिब १५ जना घाइते भएकमा छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

खासगरी भारतीय हिन्दूहरूले विशेष महत्वको धार्मिक स्थलका रूपमा मान्ने यहाँ हरेक वर्ष लाखौं मानिसहरूले वैष्णोदेवीको दर्शन गरी पूजा अर्चना गर्दछन् । घटनामा बाँच्न सफल रविन्द्रले एएफपीलाई फोनमार्फत् जानकारी दिए, ‘एकाएक हल्ला र भागदौड मच्चियो । मानिसहरू एकअर्कामाथि लड्न थाले । कसको खुट्टा वा पाखुरा भाचियो कसैलाई मतलब भएको देखिँदैनथ्यो । सबै आफ्नो ज्यान बचाउन भागिरहेको देखिन्थ्यो ।’
‘लगभग आधा घण्टापछि एम्बुलेन्स पुग्दासम्म म लगायतका केही मानिसले आठवटा लास घटनास्थलमा जम्मा गरेका थियो भने दर्जनभन्दा बढी घाइते भएका थिए,’ उनले थपे, ‘कहालीलाग्दो यस घटनामा जीवित रहन पाएकोमा म भाग्यमानी महसुस गरेको छु तर मेरो आँखा अगाडि घटेको यस दृष्य सम्झिँदा अझै पनि डरले हरीर थरथर काँपीरहेको छ ।’

भिडियोमा डरले थरथर काँपीरहेका तीर्थयात्रीहरू बच्न हतारहतार नजिकैको ढिस्कोमा चढिरहेका देखिन्छ । स्थानीय अधिकारीहरूले दुई समूहका युवाहरूबीच भएको कथित मतभेद र नयाँ वर्ष दिवसका लागि मानिसहरूको दौडधूप घटनाको मुख्य कारक भएको बताए । स्थानीय प्रहरी प्रमुख दिलबाग सिंहले प्रेस ट्रस्ट अफ इण्डिया (पीटीआईसँग) भने भागदौड मच्चिएको केही क्षणमा नै प्रहरी त्यहाँ पुगेको बताए । प्रहरी पुग्दा केही मानिसको ज्यान गइसकेको थियो भने केही छटपटाइरहेका देखिन्थे ।

तर एक अर्का प्रत्यक्षदर्शीले आफ्नो नाम नबताउने शर्तमा भने, ‘मेला व्यवस्थापनमा भएको कमीका कारण घटना हुन पुगेको देखिन्छ ।’ घटनास्थलमा अत्यधिक भीड भएको र यसलाई व्यवस्थापन गर्ने स्वयंसेवक नदेखिएको उनले बताए ।

यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई समवेदना दिनुभएको छ । मृतकका आफन्तलाई भारतीय दुई लाख रूपैँया र घाइतेलाई ५० हजार राहतस्वरूप दिइने बताए ।

प्रतिक्रिया