काठमाडौं, १६ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चर्चा र विवादमा रहेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे धेरै बोल्न नपर्ने बताएका छन् ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा शुक्रबार आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै अध्यक्ष्ँ प्रचण्डले भने, ‘एमसीसीबारे धेरै बोल्नु परेन । सारमा जे छ, प्रतिवेदनमा छ, त्यही रुपमा बुझ्नु होला ।’
अध्यक्ष प्रचण्डले आठौँ महाधिवेशनाम प्रस्तुत गरेको आफ्नो प्रतिवेदनमा ‘परिमार्जनसहित राष्ट्रियहित अनुकुल बनाएर पारित गर्ने’ भनेका छन् । तर, बन्दसत्रमा भएको छलफलमा अधिकांश सहभागीले एमसीसी खारेज गर्नुपर्ने मत राखेका थिए ।
यसैबीच अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन पारित भएको छ । प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्दसत्रले पारित गरेको हो । तर, सो प्रतिवेदनमाथि छुट्टाछुट्टै प्रस्तुत गरिएका नेतात्रय राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलको पुरक र फरकमत प्रस्तावबारे भने प्रचण्डले किटान गरेर बोलेनन् ।
गत आइतबारबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार प्रचण्डले वैचारिक र राजनीतिक प्रतिवेदन तथा नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए ।
उक्त प्रतिवेदनमाथि मंगलबार २५ वटा समूहमा छलफल भएर बुधबार र बिहीबार दुई दिन समूहका नेताहरूले आ–आफ्नो समूहको सुझावसहित निष्कर्ष पेस गरेका थिए ।
त्यसपछि पश्चात शुक्रबार अध्यक्ष प्रचण्डले जवाफ दिएपछि प्रतिवेदन पारित गरेको हो । जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ ।