हुस्सु हटेपछि विमानस्थलमा अवतरण र उडान सुरु
अखबार टुडे
प्रकाशित:
२०७८, १६ पुष

काठमाडौं, १६ पुष । बिहानदेखि लागेको बाक्लो हुस्सु हटेपछि अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आंशिक रुपमा सूचारु भएको छ ।
अहिले आकाशमा घुम्दै गरेका जहाजलाई क्रमशः अवतरण गराउन थालिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिक तथा बाह्य उडान अवतरणको अनुमति दिइएको छ ।

बिहानै आएका चार वटा जहाजलाई भने डाइभर्ट गरिएको छ । सिमराको आकाशमा तीन घण्टासम्म फन्को लगाउँदासमेत अवतरण गर्न नसकेपछि ती जहाजलाई डाइभर्ट गरिएको हो । तीन वटा जहाजलाई ढाका र अर्को जहाजलाई कोलकातामा डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

हुस्सुका कारण शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा बिहान भिजिबिलिटी घटेर १ सय मिटरसम्म झरेको थियो । विमानस्थल कार्यालयका अनुसार सामान्यतयाः उडान र अवतरणका लागि भिजिबिलिटी ३ हजार मिटर चाहिन्छ ।

यस्तै तराईका विमानस्थलमा भिजिबिलिटी निकै घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देखि कुहिरो र हुस्सु हट्दै जाने आँकलन गरिएको छ ।

प्रतिक्रिया